अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ। प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत प्राप्त गर्दै डेमोक्रेटिक पार्टीले रिपब्लिकनको दशकौँदेखिको राजनीतिक पकड रहेका राज्यमा समेत अप्रत्याशित जित निकालेको छ।
अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले कम्तीमा २२१ सिट जित्ने प्रक्षेपण गरिएको छ। ४३५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। रिपब्लिकन पार्टीले कम्तीमा १२९ सिट जित्ने देखिएको छ भने लुइजियानाको पाँचौँ निर्वाचन क्षेत्रमा पुनः मतदान हुने भएको छ।
सिनेटमा पनि डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ। कुल १०० सदस्यीय सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्नेमा डेमोक्रेटिक पक्षले कम्तीमा ५३ सिट पुर्याएको छ। रिपब्लिकनको पक्षमा ४२ सिट देखिएको छ भने पाँच सिटको परिणाम आउन बाँकी छ।
यस निर्वाचनमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनको बलियो प्रभाव रहेका दक्षिण क्यारोलाइना, क्यान्सस, टेक्सास, आयोवा र ओहायोमा समेत जित निकालेको छ। विशेषगरी क्यान्ससमा झन्डै एक शताब्दीदेखि डेमोक्रेटिक पार्टीको सिनेटर निर्वाचित नभएको अवस्थामा आएको नतिजालाई उल्लेखनीय मानिएको छ।
दक्षिण क्यारोलाइनामा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार एनी एन्ड्र्युजले जित हासिल गरेकी छन्। त्यस्तै टेक्सासमा जेम्स टालारिको सिनेटर र जीना हिनोजोसा गभर्नर निर्वाचित भएकी छन्। यसलाई दशकौँदेखि रिपब्लिकनको प्रभाव रहेको राज्यमा आएको ठूलो राजनीतिक परिवर्तनका रूपमा हेरिएको छ।
मिशिगनमा भने सिनेटको प्रतिस्पर्धा अझै टुंगिएको छैन। डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सायेदले आफू विजयी भएको घोषणा गर्दै समर्थकलाई धन्यवाद दिएका छन्। उनले आफ्नो मुस्लिम धार्मिक पहिचानलाई चुनावी मुद्दा बनाएर विपक्षीले विभाजनकारी प्रचार गरेको आरोपसमेत लगाए। तर रिपब्लिकन उम्मेदवार माइक रोजर्ससँगको प्रतिस्पर्धाको अन्तिम परिणाम घोषणा हुन बाँकी छ।
मिशिगनको गभर्नरमा भने डेमोक्रेटिक उम्मेदवार जोसेलिन बेन्सन विजयी हुने सीबीएसले प्रक्षेपण गरेको छ। यससँगै राज्यको गभर्नर पद डेमोक्रेटिक पार्टीकै नियन्त्रणमा रहने भएको छ।
इडाहो र मोन्टानामा भने रिपब्लिकनले सिनेटका सिट जोगाएका छन्। मोन्टानामा रिपब्लिकन उम्मेदवार कर्ट अल्मे विजयी हुने प्रक्षेपण गरिएको छ भने इडाहोमा जिम रिस्चले आफ्नो सिट कायम राखेका छन्।
निर्वाचनको नतिजाले ट्रम्प प्रशासनका लागि ठूलो राजनीतिक चुनौती खडा गरेको विश्लेषण गरिएको छ। अमेरिकी मतदातामा बढ्दो महँगी र जीवनयापनको लागतप्रति असन्तुष्टि नै डेमोक्रेटिक पार्टीको सफलताको प्रमुख कारण रहेको विश्लेषकहरूको भनाइ छ। इरानसँगको युद्ध र ट्रम्प प्रशासनले लगाएका व्यापारिक करका कारण मूल्यवृद्धि भएको भन्दै मतदाताले सरकारप्रति असन्तुष्टि व्यक्त गरेको विश्लेषण गरिएको छ।
ट्रम्पले भने आफू चुनावी उम्मेदवार नभएको भन्दै सामाजिक सञ्जालमा आफू उम्मेदवार भएको भए ठूलो अन्तरले जित्ने दाबी गरेका छन्। उनले विपक्षी दलको सफलताप्रति आश्चर्य व्यक्त गर्दै केही विषयमा सहकार्य गर्न सकिने संकेत पनि दिएका छन्।
संसद्का दुवै सदन डेमोक्रेटिक पार्टीको नियन्त्रणमा पुगेपछि ट्रम्प प्रशासनका निर्णयमाथि संसदीय अनुसन्धान अघि बढ्न सक्नेछ। ट्रम्प र उनको परिवारको आर्थिक गतिविधिदेखि प्रशासनका विवादास्पद निर्णयसम्म अनुसन्धानको दायरामा आउन सक्ने सम्भावना छ।
यद्यपि राष्ट्रपति ट्रम्पसँग संसद्ले पारित गरेका विधेयक रोक्न भिटो प्रयोग गर्ने अधिकार रहनेछ। अर्कोतर्फ डेमोक्रेटिक पार्टीले पनि ट्रम्प प्रशासनका प्रस्तावित विधेयक रोक्न सक्ने भएकाले आगामी दिनमा अमेरिकी राजनीति थप तनावपूर्ण बन्न सक्ने देखिएको छ।


