काठमाडौं – एसीसी यू१६ इस्टर्न जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध जित निकाल्दै नेपाल सेमीफाइनलमा पुगेको छ। अपराजित नेपालले समूहको अन्तिम खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको हो।
अलराउन्डर अशोक धामीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल मलेसियलाई हराउन सफल भएको हो। दोस्रो पारीमा नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए। नेपाली बलरविरुद्ध मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए भने मोहम्मद आलिफ १५ रनमा आउट भए। बाँकी खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
मलेसियाले जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको भए पनि ३३ दशमलव ५ ओभरमा ९९ रन बनाएर अल आउट हुनपुग्यो। मलेसियाका बाँकी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेलाका लागि अभिषेक तिवारीले ३ विकेट लिए भने सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए। कृतिक कामतले पनि एक विकेट गिराए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३ दशमलव चार ओभर खेलेर १८३ रन बनाएको थियो। नेपालका लागि अशोक धामीले ३६ बलमा आठ बाउन्ड्रिसँगै सर्वाधिक ५२ रनको पारी खेले। अशोक खेलको प्लेयर अफ द म्याच बने।
नेपालले ९१ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो। तर नेपालका लागि अशोक र नरेनले ४५ रनको साझेदारी गरेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सकेको हो। खेलमा नरेन भट्टले ४३ बलमा १ चौकासहित २९ रन बनाए। त्यसपछि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरे। कामतले १६ रन बनाए।
नेपालका निरज कुमार यादवले ८, सूर्यांशु कोइरालाले २९, प्रतिक भट्टराईले ४, दीपु कुमारले १५ रन बनाएका थिए। मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए।


