संविधानको अनुसुची ५ मा राष्ट्रिय वन नीति सम्बन्धी विषय संघको अधिकार क्षेत्र भित्र छ। संविधानको अनुसूची ९ मा भने वन जंगल वन्यजन्तु वातावरण पर्यावरण संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकार भित्र छ। हालसम्म राष्ट्रिय वन संरक्षण र रेखदेख गर्न लागि वन रक्षकको नियुक्ति खटनपटन संघले गर्दै आएको थियो। तर अहिले प्रदेशले पनि वन रक्षकको पदमा धमाधम विज्ञापन गरी खटाइरहेको छ। प्रदेश लोकसेवा आयोग मार्फत् विज्ञापन खुलाएर वन रक्षक भर्ना गरि जिल्ला जिल्लातहसम्म खटाएको हो।
प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले ०८१ कार्तिक ३० मा २ सय २१ र ०८१ पुस २९ मा ३० गरी जम्मा २ सय ५१ जना वन रक्षक पदमा विज्ञापन गरी ती पदमा नियुक्तीको लागि सिफारिस समेत गरिसकेको आयोगका उपसचिव ऋषि कुमार खनालले बताए। प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले पनि ०८२ माघ २९ मा ४२ जना वन रक्षक पदमा विज्ञापन गर्यो। वनका संघ र प्रदेशका दोहोरो संरचनाले प्रशासनिक बोझ बढाएको भन्दै संघ अन्तर्गत एक हजार पाँच सय कर्मचारीको दरवन्दी सरकारको ओएनएमबाट हालै कटौती गरिएको छ। ‘संघीय वन ऐन २०७६ मै केही नीतिगत रुपमा दोहोरोपन रहेकाले त्यस अनुरुप जिल्ला र प्रदेशमा संरचना बनेकोले अब दरबन्दी कटौती भएपछि दोहोरो संरचना केही हट्ने विश्वास छ’ वन विभागका उपमहानिर्देशक धनन्जय लामिछानेले भने।
संघ र प्रदेशमा उही प्रकृतिका कार्यालय बनाई दोहोरो संरचनासंगै व्ययभार थपिएको यो एउटा उदाहरण मात्रै हो। धेरै संरचनामा दोहोरोपना देखिएको छ, जसले राज्यको ढुकुटीमा अनावश्यक व्ययभार थपिरहेको छ। मुलुकमा संघीयता कार्यान्वयन भएको एक दशक पार गरिसक्दा उस्तै प्रकृतिका कार्यालय खारेजी गर्ने र तीन तहकै सरकारका कार्यक्रम र योजनामा दोहोरोपना हटाउन कुनै निकायले पनि संवेदनशील भएर प्रभावकारी कदम चालेका छैनन्। बरु त्यस्ता कामले अझै निरन्तरता पाइरहेको छ।
तीन तहका सरकारका कामकाजलाई नीति, कानुन र मापदण्डले कार्यक्षेत्र स्पष्ट गरेको छ। नेपालको संविधानको धारा ५६ मा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संरचना हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुन बमोजिम गर्ने व्यवस्था छ। संविधानको धारा ५७ मा उल्लेख भए बमोजिम प्रदेशको अधिकार अनुसूची ६ मा प्रदेश प्रहरी प्रशासन घर जग्गा रजिष्टेशन विद्युत सिंचाइ, खानेपानी, कृषि तथा पशुविकास प्रदेश स्वास्थ्य शिक्षा लगायतका २१ विषय रहने स्पष्ट छ । ती निकायको अधिकार संविधान र प्रदेश कानुन तोके बमोजिम हुने भनिएको छ । तर प्रदेशहरुमा समेत यस्तै प्रकृतिका कार्यालयहरु तथा संरचना छन्।
पूर्वाधार, सडक, खानेपानीदेखि दैनिक जीवनसँग जोडिएका कृषि, पशु, स्वास्थ्य शिक्षा वन सिंचाइ, माटो मल विऊसम्मका विषयमा समेत दोहोरोपना देखिएको पाइएको छ । यस्तो बोझिला संरचना हटाउनुको साटो संघले अरु विस्तार गरिरहेको छ। पूर्वाधार विकास कार्यालय पाँच वटा प्रदेशमा खडा गरेको संघीय सरकारले २ वटा प्रदेशमा यो आवमै थपेको हो।
वागमती प्रदेशमा कृषिसंग सम्बन्धित कार्यालयहरुमा संघ र प्रदेशको दोहोरोपना देखिएको छ। संघको माटो र विषादी सम्बन्धी काम गर्न संघको ललितपुरको हरिहरभवनमा केन्द्रीय कृषि प्रयोगशाला छ। त्यस्तै बागमती प्रदेशकै बाली संरक्षण प्रयोगशाला पनि हरिहरभवनमै छ। हेटौडामै माटो र मल परीक्षण प्रयोगशाला छ । प्रदेशको विउ विजन प्रयोगशाला हेटौडामा छ। संघले समस्याग्रस्त सहकारी छानविन समिति बनाएको छ । बागमती प्रदेशले पनि त्यसको सिको गर्दै कानुन निर्माण पछि सोही प्रयोजनका लागि प्रदेश स्तरमा सहकारी छानविन समिति बनाएको छ।
महालेखा परीक्षको कार्यालयको बागमती प्रदेशको सातौ बार्षिक प्रतिवेदनले समान कार्य प्रकृति र कार्य क्षेत्र भएका पूर्वाधार, सिंचाइँ खानेपानी भवन सम्बन्धी कार्यहरु तहमा हन्तान्तरण नगरी संघ र प्रदेश दुवैले कार्यालय स्थापना गरेको पाइएको उल्लेख गरेको छ।
गण्डकी प्रदेशमा विभिन्न कार्यालयको दोहोरोपना छ। सहरी विकास तथा भवनसम्बन्धी कार्यालय संघ र प्रदेशका छुट्टाछुट्टै छन् । उही नाम र उस्तै प्रकृतिका काम गर्नका लागि खानेपानी डिभिजन कार्यालय र खानेपानी कार्यालय गण्डकी प्रदेशमा अस्तित्वमा छन्। कृषितर्फ भेटेनरी कार्यालय र प्रदेश पशु निर्देशनालय सञ्चालनमा छन्। गण्डकीमा मात्र होइन, कोशी प्रदेशमा पनि त्यस्तै समस्या छ। संघीय भवन कार्यालय र प्रदेश सहरी विकास कार्यालय उही कामका लागि खडा भएका हुन्। संघीय भवन कार्यालय चारवटा जिल्लालाई एउटाको दरमा खडा गरिएका छन्। प्रदेश सहरी विकास तथा भवन कार्यालय पनि चारवटै छन्। खानेपानी डिभिजन कार्यालय प्रदेशमा छ भने संघीय खानेपानी तथा ढल विकास आयोजना निर्माण आयोजना संघअन्तर्गत पनि छ। सहरी विकासतर्फ प्रदेशका कार्यालय रहँदा संघको पनि छ । खानेपानी सरसफाइ डिभिजनअन्तर्गत सातवटा प्रदेश कार्यालय छन्। संघीय खानेपानी तथा ढल विकास कार्यालय सातवटै छन्। पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयमा पनि दोहोरोपना देखिएको छ।
नयाँ सहर आयोजनामा संघअन्तर्गतका कार्यालय छन् भने प्रदेशमा सहरी विकास तथा भवन कार्यालय सञ्चालनमा छन्। दुवैले सडक निर्माण, सहरी विकासका काम गरिरहेका छन्। कृषिमा पनि दोहोरोपना छ। कृषि ज्ञान केन्द्र प्रदेशमातहतमा छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयले उही खालको काम प्रदेशमा गरिरहेको छ। प्रदेशमा कृषि आयोजना व्यवस्थापन कार्यालय पनि अस्तित्वमा छ।
मधेस प्रदेशको अवस्था पनि भिन्न छैन। भूमिगत सिँचाइतर्फ संघका कार्यालय रहेका जिल्लामै प्रदेशले पनि त्यस्तै प्रकृतिको कार्यालय खडा गरेको छ। संघअन्तर्गत सिरहा, महोत्तरीमा भूमिगत जलस्रोत विकास समिति कार्यालय छन्। प्रदेशले पनि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयहरू सर्लाहीमा एउटा, सिरहामा दुइटा पर्सामा तीनवटा स्थापना गरेको छ । खानेपानीकै अर्काे कार्यालय पनि अस्तित्वमा छन्। उर्जा सिंचाइँ तथा खानेपानी डिभिजन कार्यालयहरु रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी सिरहा, सप्तरीमा कार्यालयहरु छन्।
नेपालको संविधानको अनुसूची ७ मा विषादीको काम संघ र प्रदेशको साझा अधिकार अन्तर्गत राखिएको छ। जीवनाशक विषादीको पञ्जिकरण, प्लान्ट उत्पादन, निकासी र पैठाली प्याकेजिङ ओसारपसार र नियमन संघको जिम्मा छ। तर बिषादीको खुद्रा इजाजत र नियमनमा प्रदेशको अधिकार छ तर जीवनाशक ऐनको कसुर उपर सजाय गर्ने र मुद्दा चलाउने अधिकार जीवनाशक विषादी निरीक्षकलाई दिइएको छ। त्यस्ता निरीक्षक प्रदेश र संघ दुवैले छुटाछुटै नियुक्त गरि खटाइरहेकाले काममा दोहोरोपना देखिएको छ। प्रदेशले विषादीको कसुरमा मुद्दा चलाएर टुग्याउन स्रोत साधनमा दक्ष भैइनसकेको र संघले नै यस्तो काम गर्दा दोहोरोपना नहुने विषादीबारे जानकार बरिष्ठ कृषि अधिकृत मनोज पोखरेल बताउँछन्।
विषादीको आयात बढेसंगै कृषकले खेतवारीमा जथाभावी घातक विषादीको प्रयोग गरिरहेपनि त्यसबाट जोगिन प्राविधिक ज्ञान सीप साथै विषादीको नियन्त्रणमा समेत राज्यको उपस्थिति प्रभावकारी देखिएको छैन। ‘संघ र प्रदेशले विषादी नियमन र नियन्त्रणका उही काम गरिरहेपनि प्रयोगमा कृषकसम्म तालिम प्रचार प्रसारको अप्रर्याप्तता तथा संघ र प्रदेशबीच समन्वयको अभावमा राज्यको उपस्थिति कमजोर देखिएको छ,’ पोखरेलले भने। बाग्मती र सुदुरपश्चिम प्रदेश मात्रै जीवनाशक विषादी सम्बन्धी ऐन ल्याउन बाँकी रहेपनि नियमन र नियन्त्रणमा प्रदेश सरकारको भूमिका देखिएको छैन । ६ वटा प्रदेशमा त अझै पनि विषादी निरीक्षक समेत छैनन्।
स्थानीय पूर्वाधार विकास विभाग प्रदेशमा राखेर स्थानीय तहका काम गर्न सहज हुने भएपनि संघबाटै काम गरिरहेको जानकारहरु बताउँछन्। संघ र प्रदेशका जिल्लास्तरमा सिंचाइ कार्यालयहरु अलग अलग छन्। लेखा नियन्त्रणको कार्यालय पनि संघ र प्रदेशको छुटाछुटै कार्यालय जिल्लास्तरसम्मै छन्। जिल्लास्तरमै प्रदेशले यसरी कार्यालय राख्न उपयुक्त नभएको जानकारहरु बताउँछन्। ‘संघकै लेखा नियन्त्रण कार्यालयले अपनाइरहेको केन्द्रीय सिस्टममै लेखा राख्ने हो, कामको चाप नहुँदा यसरी प्रदेशले अधिकार छ भन्दै जिल्लामा आफ्नो छुटै कार्यालय खोल्न जरुरी छैन। प्रदेशले प्रदेश लेखा नियन्त्रणको कार्यालय खडा गर्दा राज्यले प्रशासनिक बोझ साथै ढुकुटीमा अनावश्यक आर्थिक व्यभभार बढाएको छ,’ पूर्व महालेखा नियन्त्रक सुरेश प्रधानले भने।
क्षमता विकासका लागि भन्दै प्रदेश सुशासन केन्द्र प्रदेशस्तरमा स्थापना भएपनि सोही कामका लागि प्रदेशहरुले प्रदेश प्रतिष्ठान समेत खडा गरेका छन्। सुदुरपश्चिम प्रदेशले समेत प्रदेश प्रतिष्ठान खडा गरेको हो।
स्थानीय तहले नै भूमि प्रशासनको काम गर्ने गरी अधिकार हस्तान्तरण भैसकेको छ। तर घर जग्गाको रजिष्टेशन र किताकाट संघबाटै भैरहेको छ। सरकारले यसलाई विधिवत रुपमा कार्यान्वयन गर्ने प्रयास बल्ल सुरु गर्दै छ।
प्रदेश सरकारले कृषि, पशु, सडक, खानेपानी सिंचाइँ, वन, उद्योग, शिक्षा लगायतका कार्यालयहरु प्रत्येक जिल्लामा खोलिएको छ। त्यस्तै स्थानीय तहले समेत विषयगत शाखाहरु खेल्ने कामले दोहोरोपना तथा अनावश्यक खर्च बढाएको महालेखा परीक्षकको कार्यालयको अध्ययनको निष्कर्ष छ। यसरी फरक– फरक संरचना बनाउँदा राज्यमा अनावश्यक आर्थिक भार थोपरिहेको पूर्वप्रमुख महालेखा नियन्त्रक सुरेश प्रधान बताउँछन्।
स्थानीय तहमा हस्तान्तरण भएका कार्यक्रमकै लागि प्रदेशहरुले निर्देशनालयहरु खडा गरेको पाइएको छ। कर्णालीमा पूर्वाधार विकास निर्देशनालय, स्वास्थ्य सेवा निर्देशनालय, शिक्षा विकास निर्देशनालय, पशुपन्छी विकास निर्देशनालय, कृषि विकास निर्देशनलाय छ । बागमती प्रदेशमा पनि स्वास्थ्य, शिक्षा, कृषि, वन लगायतका ७ वटा निर्देशनालय अस्तित्वमा छन्।
कृषि र प्रसारका कार्य संघ र प्रदेश दुवैले गरिरहेको छन्। कृषि बजार व्यवस्थापन, अनुगमन विऊ विषादी जनचेतना जगाउने तालिम दिने स्थानीय तहले सहज र प्रभावकारी रुपमा गर्न सक्ने अवस्था रहँदा पनि प्रदेश र संघले यी काम गरिरहेको जानकारहरु बताउँछन्। महालेखा परीक्षकको कार्यालयले चार वर्ष अगाडि सम्पन्न गरेको कार्यमूक अध्ययन प्रतिवेदनमा सडक निर्माण कार्य सडक विभाग, शहरी विकास विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रदेश पूर्वाधार विकास कार्यालय र स्थानीय तहको सिप विकास तालिमहरु श्रम तथा रोजगार मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा मन्त्रालयबाट कर्मचारी तालिम सम्बन्धित कार्य, नेपाल प्रशासनिक प्रतिष्ठान, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, न्याय सेवा तालिम केन्द्र लगायत विभिन्न मन्त्रालयबाट सञ्चालन भएका कार्यहरुमा दोहोरोपना पाइएको छ।
संविधानको अधिकार सूची बमोजिम शिक्षालाई स्थानीय तहमा हस्तान्तरण गरेको भएपनि जिल्लामा संघ मातहतको जिल्ला शिक्षा तथा समन्वय एकाइँ रहने गरेको, कृषि अन्तर्गत समेत स्थानीय, प्रदेश र संघबाट समेत एकै किसिमका कार्यक्रम सञ्चालन हुने र कृषकलाई अनुदान वितरण गर्ने कार्य गरेको सडक, खानेपानी साना सिंचाइँ लगायतका अन्य पूर्वाधार निर्माण सम्बन्धी एकै किसिमका कार्यक्रमहरु समेत तिनै तहले गर्ने गरेको पाइएको सो अध्ययन प्रतिवेदनले औल्याएको छ। तीनै तहमा पूर्वाधार निर्माणका कार्यालय वा आयोजना स्थापना गरिएको छ । तीन तहबाट हुने कार्यक्रमको परिणाममा ठूलो वा सानो भएपनि लगभग उस्तै प्रकृति रहने गरेको पाइएको छ। यसबाट एकै किसिमको काम गर्न भिन्दा भिन्दै कार्यालयहरु सञ्चालन भई आएकोमा राज्यकोष माथि व्ययभार परेको देखिएको महालेखाले औल्याएको छ। व्ययभार बढाउने, समन्वयमा समेत कठिनाइ, काममा द्वन्द्व रहने र उस्तै प्रकृतिका कार्यहरु गर्नका लागि संघ, प्रदेश र स्थानीयस्तरमा वेग्ला वेग्लै कार्यालयहरु खडा गर्ने परिपाटी अन्त्य गर्न कार्यविस्तृतीकरण ढाँचा र पुनसंरचना गर्न महालेखाले सरकारलाई भनेको छ।
मापदण्ड पालनामै समस्या
संविधानको भाग २० धारा २३२ मा संघ प्रदेश र स्थानीय तह बीचको सम्बन्ध संघ प्रदेश र स्थानीय तह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने स्पष्ट गरेको छ । संघ र प्रदेश अन्तरसम्बन्ध ऐन २०७७ को मर्म र त्यसले स्पष्ट गरेका प्रावधान समेत तीन तहकै सरकारले पालनामा उदासिनता देखाएको जानकारहरु बताउँछन्। राष्ट्रिय योजना आयोगले पारित गरेको आयोजना वर्गीकरण आधार तथा मापदण्ड २०८० अनुसार संघ, प्रदेश र स्थानीय तहले निश्चित रकमका आयोजना मात्रै साझा अधिकार अन्तर्गत काम गर्न पाउने छन्।
घमा तीन करोड, प्रदेशका १ एक करोड सम्म भन्दा कमका आयोजना नगर्ने स्पष्ट गरिएको छ। त्यस्तै साझा अधिकारको विषयमै लागत स्पष्ट तोकेर तीन तहले दोहोरोपना नहुने गरी आयोजना गर्न सक्ने प्रावधान राखिएको छ। साझा अधिकार अन्तर्गत तीन करोड सम्मका स्थानीय तहले, नगरपालिकाले पाँच करोड, उपमहानगरपालिका १० करोड, महानगरपालिका १५ करोड, र प्रदेशले ५० करोड साथै संघले पनि ५० करोडसम्मका आयोजना मात्रै गर्न सक्ने स्पष्ट गरिएको छ।
आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०८० मा रहेको संघ, प्रदेश र स्थानीय तहमा सञ्चालन हुने आयोजनाको मापदण्ड अनुसार तराइँमा ५०० हेक्टर र पहाड तथा हिमालमा क्रमस १०० र ५० हेक्टर भन्दा माथिका ठूला सिंञ्चाइ आयोजना संघले कार्यान्वयन गर्ने व्यवस्था छ। नदी नियन्त्रण तर्फ तराइँमा १० किमी भन्दा बढी तटबन्ध गर्नुपर्ने नदीहरु र पहाड वा हिमालमा ५ किमी भन्दा बढी तटबन्ध गर्नुपर्ने नदीहरु पहिरो नियन्त्रण तर्फ २० हजार वर्ग मिटरभन्दा बढीका कार्यहरु संघको कार्यक्षेत्र हुने उल्लेख छ। मापदण्डमा संघको एकल अधिकारको विषयका पूर्वाधार आयोजनामा ५० करोडभन्दा माथि लागत भएका आयोजना मात्रै संघको कार्यक्षेत्रमा पर्ने उल्लेख छ।
सडक र सिंचाइ सम्बन्धी कार्यक्रम तथा आयोजनाहरुमा मन्त्रालय र अन्तर्गतका निकायले आव ०८१÷०८२ मा ६ कार्यक्रम अन्तर्गत मापदण्ड निर्धारित लागत अर्थात् ३ करोड भन्दा कमका १ हजार ८ सय ३९ आयोजना ६ अर्ब २४ करोड १६ लाख बजेट विनियोजन गरेको छ। तर स्वीकृत मापदण्ड पालना नगरी यस्तो वेथिति गरिरहेको पाइएको महालेखाले जनाएको छ। कतिपय निकायको त कार्यक्षेत्रमै पनि दोहोरोपना देखिएको छ । सडक बोर्ड नियमावली २०६० को नियम ४ मा सडकहरुलाई राजमार्ग सहायक राजमार्ग शहरी मार्ग, जिल्ला मार्ग ग्रामिण तथा कृषि सडक र अन्य सडक समेत ६ वर्गमा बर्गीकरण गरिएकोमा राजमार्ग तथा सहायक राजमार्ग सडक विभागको कार्य क्षेत्रमा पर्दछ। बोर्डले दिएको जानकारी अनुसार विशेष महत्वका सडक मर्मत कार्यक्रममा ४ अर्ब १७ करोड ४५ लाख ४६ हजार बजेट विनियोजन भएको छ। बोर्डले स्थानीय तहको सडक मर्मत सम्भारमा लागत सहभागिता हुने गरी अनुदान दिने गरेतापनि विशेष महत्वका सडक मर्मत शीर्षक अन्तर्गत स्थानीय तहको कार्य क्षेत्रमा पर्ने सडक मर्मतका लागि सडक डिभिजन कार्यालयहरुबाट मर्मत कार्यक्रम गरेको पाइएको छ।
‘एउटै काम बजेटको आकार फरक पारेर राजनीतिक स्वार्थमा दुई तीन निकायले चेनऐन समेत उल्लघंन गरिरहेका छन्’ महालेखा परीक्षकको कार्यालय लुम्बनी प्रदेशका प्रमुख नेत्र पौड्याले भने।
तीन तहकै सरकारले बजेट ल्याउने समय फरक –फरक छ। तर बजेट र कार्यक्रममा दोहोरोपना पाइएको छ। ‘एकले अर्काेको बजेट अध्ययन गर्ने र नदोहोर्याउने परिपाटीको विकास नै भएको छैन। एउटाले गरेको काम अर्काले पनि गर्दा प्राथमिकतामै नपर्ने अवस्था छ। संघीयताको मर्म अनुरुप सहकार्य र समन्वय नहुँदा पनि विकासमा ठोस उपलब्धी हासिल हुन सकेको छैन’ पूर्व सचिव गोपीकृष्ण खनालले भने।
राष्ट्रिय योजना आयोगको ०८१÷०८२ को प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय तहरुमा आयोजना छनोटमै दोहोरोपना भैरहेको र त्यसले आयोजनाको कार्यान्वयनमा र अपेक्षित लक्ष्य हासिल गर्न कठिन भएको उल्लेख गरेको छ।
संघले अहिले पनि ५ देखि १० लाखका खानेपानी, पूर्वाधार र पर्यटनसँग सम्बन्धित टुके्र आयोजना सञ्चालन गरिरहेको छ। ‘संघले आफ्नो उपस्थिति तल्लो तहसम्म देखाउन र राजनीतिक स्वार्थबाट प्रेरित भएर यस्ता खालका कार्यक्रम अगाडि बढाइरहेका छन्। ‘संघ र प्रदेशबाटै मापदण्ड उल्लघंन मात्रै भएको छैन दोहोरोपना भैरहेको छ’ भूमि व्यवस्था, सहकारी सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकास दाहालले भने।
संसद् विकास कार्यक्रम अहिले सञ्चालनमा नभएकाले आफ्नो क्षेत्रमा संघ प्रदेश र स्थानीय तहबाटै कार्यक्रम लैजाने राजनीतिक स्वार्थ र दाउले पनि यसरी दोहोरोपना भैरहेको पूर्वसचिव गोपीकृष्ण खनाल बताउँछन्। ‘दुवै थरिका निकायले उही काम गर्दा प्रभावकारिता देखिन्न। सजिलो काममा सबैले हात हालेका छन्। रिजल्ट पनि उही आइरहेको छ। अनियमितता बद्मासी पनि भैइरहेको छ’ पूर्वसचिव खनालले भने।
यसरी काम गर्दा प्रशासनिक र आर्थिक भार परिरहेको महालेखाले भन्दै त्यस्ता संरचना हटाउन र कार्यक्रम र योजना सञ्चालन गर्दा विद्य्मान मापदण्ड र कानुन पालना गर्न महालेखा परीक्षकको कार्यालयको त्रिसठीऔं बार्षिक प्रतिवेदन २०८३ ले आंैल्याएको छ।
योजना र कार्यक्रमको दोहोरोपना अथवा कार्यालयकै दोहोरोपना विषयमा संसद्का समिति र सरोकारवाला निकायहरुमा सम्बोधनका लागि आवाज समेत उठ्ने गरेको छैन। प्रदेश समन्वय परिषद् र प्रधानमन्त्री कार्यालय साथै अर्थ मन्त्रालय समेत यसमा जिम्मेवार र जवाफदेही बन्न नसकेको र दोहोरोपनाको चेक गर्ने संयन्त्र नहुँदा अझ बेथिति मौलाइरहेको पूर्व महालेखा नियन्त्रक सुरेश प्रधान बताउँछन् । ‘यसो हुनमा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय र योजना आयोग जिम्मेवार छन्,’ उनले भने।
दोहोरोपना हटाउन तीन वर्ष अगाडि सरकारले कार्य विस्तृतिकरण प्रतिवेदन बनाएपनि कार्यान्वयनमा आउनै सकिरहेको छैन। सान्दर्भिक नदेखिएका संस्थाहरु खारेज गर्न, संघ प्रदेश र स्थानीय तहमा दोहोरोपन आउने र देखिएका निकाय गाभ्न पनि सो सार्वजनिक खर्च पुनरावलोकन आयोगले प्रतिवेदन मार्फत् सरकारलाई सुझाव दिएको थियो। आयोगले दिएको सुझाव समेत प्रशासनिक तत्परता तथा कानुन समेतको समस्याको कारण कार्यान्वयन नहुँदा आर्थिक दायित्व र चाप बढेको महालेखा परीक्षकको कार्यालयको उक्त अध्ययनले देखाएको छ।

