काठमाडौं। महाशक्ति सिमेन्ट लिमिटेडले १३ अर्ब रुपैयाँ लगानीमा नयाँ क्लिङकर प्लान्ट ल्याउने भएको छ। पछिल्लो समय सिमेन्टमा लगानी सुस्ताए बेला महालक्ष्मी सिमेन्टले आफूलाई आवश्यक क्लिङकर उत्पादन गर्न १२ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको हो।
महालक्ष्मीले कपिलवस्तुको शिवराज नगरपालिका क्लिङकर प्लान्ट बनाइरहेको छ। हालसम्म ६६ प्रतिशत वित्तीय प्रगति भएको गौरिशंकर सिमेन्टले जनाएको छ।
कूल लगानीमध्ये ९ अर्ब ५० करोड रुपैयाँ बैंकको ऋण र बाँकी ३ अर्ब ४३ करोड रुपैयाँ संस्थापक स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ। उद्योगमा २५.५० प्रतिशत इक्विटी र बाँकी ७३.५० प्रतिशत बैंकको ऋण हुने लगानी संरचना तयार भएको छ।
६ अर्ब ७३ करोड रुपैयाँ बराबरको आवधिक ऋण कन्सोर्टियम व्यवस्थाअन्तर्गत जुटाइसकिएको उद्योगले जनाएको छ। बाँकी २ अर्ब ७६ करोड रुपैयाँ जुटाउन बाँकी नै छ। प्रवद्र्धकहरूले चुक्ता पुँजीका रूपमा १ अर्ब ७६ करोड रुपैयाँ र सेयर आवेदन रकमका रूपमा १ अर्ब १४ करोड ८२ लाख रुपैयाँ लगानी गरिसकेका छन्। जुन प्रतिबद्ध कुल इक्विटीको ८४.८६ प्रतिशत हुन आउँछ।
उद्योगबाट दैनिक २ हजार ५ सय टन सिमेन्टको कच्चावस्तु क्लिङकर उत्पादन हुनेछ। कम्पनीले मुख्यतया आफ्नो क्लिंकर मातृ संस्था महाशक्ति सिमेन्टलाई आपूर्ति गर्ने भएको छ।
उद्योगले प्युठान र अर्घाखाँचीमा अवस्थित तीनवटा खानीहरूबाट चुनढुङ्गा आपूर्तिको व्यवस्था सुनिश्चित गरेको छ। यी खानीहरूमध्ये केही गौरिशंकरको स्वामित्वमा छ भने बाँकी सहायक कम्पनीहरू—सागर सिमेन्ट प्रालि र बुद्धभूमि माइन्स एण्ड मिनरल्स प्रालिको स्वामित्वमा रहेको छ।
क्लिकर प्लान्टबाट ५० देखि ११० किलोमिटरको दूरीमा अवस्थित यी खानीहरूमा करिब ६ करोड ७० टन चुनढुङ्गाको भण्डार रहेको उद्योगले जनाएको छ। तिनको अनुमानित आयु करिब १५ वर्षदेखि ५४ वर्षसम्म रहेको छ।
यी खानीहरूबाट दैनिक करिब ८ हजार ५०० टन चुनढुङ्गा उत्खनन गर्न अनुमति प्राप्त छ। जसले क्लिङकर उत्पादनका लागि दीर्घकालीन रूपमा चुनढुङ्गाको उपलब्धता सुनिश्चित हुने आधार प्रदान गर्दछ।
सिमेन्ट उत्पादन पूर्वाधार निर्माण जारी छ। आउँदो फागुन (फेब्रुअरी) सम्म सञ्चालनमा ल्याउने तयारी रहेको छ।
परियोजना निर्माणकै चरणमा रहेकाले यसमा कार्यान्वयनसम्बन्धी जोखिमहरू कायमै छन्। यसमा काम सम्पन्न हुनमा ढिलाइ हुने सम्भावना, लागत बढ्ने जोखिम र बाँकी ऋण लगानी समयमै उपलब्ध हुने वा नहुने जस्ता विषयहरू समावेश छन्। जसले परियोजनाको समग्र समयतालिका र आवश्यक लगानीमा असर पार्न सक्छ। जसको निरन्तर अनुगमन गर्न आवश्यक हुनेछ।
नेपालमा सिमेन्टमा अत्यधिक प्रतिस्पर्धात्मक छ। चिनियाँ लगानीमा दुई ठूला उद्योग सञ्चालनमा आएपछि सिमेन्टमा प्रतिस्पर्धा झनै गहिरिएको छ। ६० वटा सिमेन्ट एकाइ र २० वटा क्लिंकर उत्पादन एकाइहरू सञ्चालनमा छन् भने थप केही एकाइहरू स्थापना गर्ने योजना पनि छ।
सिमेन्ट उद्योगमा संगठित र असंगठित दुवै प्रकारका उत्पादकहरूको उपस्थिति रहेको छ। जसले गर्दा मूल्य निर्धारणमा लचकता सीमित हुन पुगेको छ। विशेष गरी हाल भइरहेको उत्पादन क्षमता विस्तार र बजारमा आउन सक्ने नयाँ प्रतिस्पर्धीहरूलाई विचार गर्दा कच्चा पदार्थ वा अन्य लागतमा हुने उल्लेखनीय वृद्धि तथा बजार मागमा आउने परिवर्तनले कम्पनीको नाफा मार्जिनमा दबाब सिर्जना गर्न सक्छ।
गौरीशंकर सिमेन्ट सन् २०२१ मा स्थापना भएको हो। उद्योगको चुक्ता पुँजी १ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। जसमध्ये महाशक्ति सिमेन्ट लिमिटेडको ९८.३० प्रतिशत बहुमत हिस्सा छ भने बाँकी १.७० प्रतिशत हिस्सा दिनेश कर्माचार्यको छ।

