काठमाडौँः निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको निर्णयसँगै १५औँ महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिले दलको आधिकारिक अभिलेखमा स्थान पाएको छ ।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन सम्पन्न गरी नयाँ पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा आयोगले मंगलबार बसेको बैठकबाट कार्यसमिति र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो ।
१५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । त्यसपछि कात्तिक १६ गते महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक तथा समसामयिक दस्तावेज र अन्य निर्णयहरू आयोगमा बुझाउँदै अभिलेख अद्यावधिकका लागि निवेदन दिएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले आफ्ना पदाधिकारीमा हेरफेर गरे त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले दल दर्ता किताबमा पदाधिकारी परिवर्तन तथा सम्बन्धित विवरण अद्यावधिक गर्ने गर्छ ।
आयोगको पछिल्लो निर्णयले कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व र त्यसबाट पारित विधानलाई औपचारिक रूपमा अभिलेखमा समेटेको छ ।

