काठमाडौं– २९ घन्टापछि खुलेको नारायणगढ–मुग्लिन सडक शनिबार रातीदेखि पुनः दुईतर्फी अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राती पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो।
अहिले पहिरो पन्छ्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोमा विद्युत् तार रहेकाले त्यसलाई हटाएपछि पहिरो पन्छ्याउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले बताए।
पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनको भनाइ छ। सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। निरन्तरको सडक अवरोधले सवारी यात्रुलाई समस्या परेको छ।
यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्छन्। पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाँै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको मुग्लिन प्रहरीले बताएको छ।
लगातार २९ घन्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो। तर राती साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले बताएको छ।


