काठमाडौं– नारायणगढ–मुग्लिन सडक पहिरो खसेपछि पुनः बन्द भएको छ। सडक खण्डको तीन नम्बर पुल नजिकै बिहान गुडिरहेको ट्रकमाथि पहिरो खसेको छ। पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको छ।
आइतबार बेलुकी साढे ६ बजे खुलेको मुग्लिन–नारायणगढ सडक खण्ड पहिरोका कारण पुनः बन्द भएको हो। राती करिब २ बजेतिर तीन नम्बर पुल नजिक पहिरो खसेपछि सडक पुनः बन्द भएको छ। गुडिरहेको ट्रकमाथि पहिरो झरेपछि सामान्य घाइते भएका चालकको मुग्लिनमा उपचार भइरहेको छ।
ट्रक सडकमै रहेको र पहिरो पनि झरेकाले दुईतर्फी आउजाउ बन्द भएको मुग्लिन प्रहरीका इन्स्पेक्टर विशाल तामाङले बताए। अहिले डोजर लगाएर पहिरो हटाउन सुरु गरिएको प्रहरीले जनाएको छ। सोही स्थानमा पहिरो जाँदा आइतबार पनि झन्डै २० घन्टा बन्द भएको सडक बेलुकी मात्रै खुलेको थियो। त्यसको केही समयमै फेरि पहिरो खसेर बन्द भएको सडक पहिरो पन्छाएर खुलाइएको थियो।
नारायणगढ–मुग्लिन सडकमा बारम्बार पहिरो खसेर बन्द हुँदा यात्रुले सास्ती पाइरहेका छन्। पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ। दुईतर्फी सडक खुलाउन ट्रक हटाउनुपर्नेछ। बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो। पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै यात्रु घन्टौं जाममा परेर समस्यामा परेका छन्।


