काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्। बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन्।
‘याे वर्ष र आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नु पर्छ,’ उनले भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला।’
उनले राजस्वको दायरा बढाउँछौं भनेर मात्र नबढ्ने भएकाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले बजेटबाट पूँजीगत खर्च चलायमान बनाउन चाहेको उल्लेख गरे।
‘सधैं हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ। यो सुरु भइसकेको पनि छ। आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ’, उनले भने, ‘त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ। यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ।’


