पोखरा- नेपालमा पूर्ण रुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवाले पोखराको लेकसाइडमा सेवा सुरु गरेको छ। पोखराको लेकसाइडस्थित स्ट्रिट नं. १ मा पौवाले ११औं शाखा सञ्चालनमा ल्याएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे उक्त शाखाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
विविध कार्यक्रमका साथ पौवाले शाखा संचालनको तयारी गरेको पौवाले १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए।
‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो। त्यसमा पनि होटल व्यवसाय झन् बढी मारमा पर्यो। पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु पनि चलायमान हुन थालेका छन्’, उनले भने।
होटलमा लगानी गर्नु अझै पनि चुनौतीपूर्ण भएपनि यसलाई अवसरमा र रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका उनले बताए।
पोखरामा पौवाको प्रवेश
सामान्यतयाः नेपाल घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई पोखरा हो। पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाईमा पारेको जनाइएको छ।
‘पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ। पोखराबासी र बाहिरका सबै पाहुनाहरुलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौं,’ प्रबन्ध निर्देशक ज्ञवालीले भने।

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले दाबी गरे। ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो।’
पौवाले पोखरामा करिब १० करोड बढी लगानीमा शाखा सञ्चालन गर्न लागिएको उनको भनाई छ। पौवाको लक्ष्य अनुसार मिसन १०० मा पुग्दा पौवाको लगानी अरवौं पुग्ने होटलले जनाएको छ।
पौवा पोखरामा यस्ता छन सुविधा
संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको छ। सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुईटगरी ३९ वटा सुविधा सम्पन्न कोठा छन्।
वातानुकुलित कोठामा उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध रहेको होटलले जानकारी दिएको छ। कोठाबाटै माछापुच्छ्रे ,अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।
होटलमा दुई वटा सेमिनार हल र कन्फ्रेन्स हल रहेका छन्, जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ। पौवा पोखराको मुख्य आकर्षण एकहजार बढी क्षमताको ‘फेवा हल’ हो।
फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाहउत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ। ठूलो उपस्थितिका लागि पार्किङ अत्यावश्यक रहेको छ। पौवामा एकैपटक पचासौं सवारी साधन पार्किङ गर्नसक्ने सुविधा रहेको छ।

सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरु गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे।
पौवाले चौबिसै घन्टा आतिथ्य सत्कारको सेवा दिइने बताएको छ। पूर्ण पारिवारिक वातावरणमा सञ्चालन हुने पौवाले पोखरा अन्तराष्ट्रिय विमानस्थल र बसपार्कसम्म ल्याउने/लैजाने ट्रान्सफरको सुविधा रहेकोे छ।
‘हामीलाई विश्वास छ पोखरा पौवामा आउनुहुने आन्तरिक र बाह्य पर्यटकलाई आतिथ्य सत्कार सहितको सेवामा कुनै कमी हुन दिदैनौँ,’ अध्यक्ष भण्डारीले प्रतिवद्धता व्यक्त गरे।
पौवा पोखराले मात्र ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। पौवाको सेवाले पोखरा घुम्न आउने पर्यटकले नेपाल चिनाउने अवसरको रुपमा लिइएको ब्राण्ड प्रमुख भण्डारीले बताए।

‘होटलमा आउने अतिथि तथा ग्राहकको सन्तुष्टि नै हाम्रो सेवाको आदर्शको रुपमा लिएका छौँ। आउँदै गरेको नेपाली नयाँ वर्षमा पौवाले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी विशेष छुट सहितको प्याकेज सेवा उपलब्धको तयारमा पौवा ग्रुपले तयारी गरेका छौं,’ उनले भने।
एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिसन १०० योजना बनाएको होटल पौवा पोखरासहित अहिलेसम्म देशभर ११ स्थानमा सञ्चालनमा छ।
विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा अहिले पोखरामा आइपुगेको हो। रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि ११ औ शाखाका रुपमा पोखराको गन्तब्य तय गरेको छ।


