पर्वत– पर्वतको जनसंख्या विगत ३० वर्षयता लगातार घट्दै गएको पाइएको छ। पछिल्ला तीन पटक भएका जनगणनाको तथ्यांकमा जनसंख्ख्या घट्दै आइरहेको देखिएको हो। २०५८ मा १ लाख ५७ हजार ८२६ जनसंख्या रहेकामा २०६८ मा १ लाख ४५ हजार ५९० मा झरेको थियो। २०७८ को गणनामा भने झनै घटेर १ लाख ३० हजार ८८७ कायम भएको छ।
वृद्धिदर हेर्दा २०५८ मा शून्य दशमलव ९५ प्रतिशत वृद्धिदर रहेकामा २०६८ मा शून्य दशमलव ७४ प्रतिशत रहेको रहेको थियो। जनसंख्ख्या कम भएसँगै जनघनत्व पनि घटेको छ। प्रतिवर्गकिलोमिटरमा २०५८ मा ३१९, २०६८ मा २९७ र २०७८ मा २६५ जना बसोबास गरेको देखिएको छ।
राष्ट्रिय जनगणना २०७८ मा जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्यांक सहायक सुरेन्द्रराज पौडेलले २०६८ को जनगणना र २०७८ को जनगणनाको १० वर्षे अवधिमा पर्वतमा माइनस १.०९ प्रतिशत वृद्धिद्धर रहेको बताए।
सात स्थानीय तह रहेको जिल्लामा ती सबै पालिकाको जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ। बिहादी गाउँपालिकामा सबैभन्दा धेरै माइनस दुई दशमलव शून्य पाँच तथा जलजला गाउँपालिकामा माइनस शून्य दशमलव १५, कुश्मा नगरपालिकामा माइनस शून्य दशमलव ३७, महाशिला गाउँपालिकामा माइनस एक दशलव ८७, मोदी गाउँपालिकामा माइनस एक दशमलव १९ र फलेवास नगरपालिकामा माइनस एक दशमलव ८० प्रतिशत रहेको छ।
२०७८ को तथ्यांकअनुसार बिहादीमा १० हजार आठ सय २८, जलजलामा २१ हजार एक सय १९, कुश्मामा ३८ हजार एक सय एक, महाशिलामा आठ हजार एक सय ३६, मोदीमा १८ हजार सात सय ९४, पैयुँमा १२ हजार सात सय ७५ र फलेवासमा २० हजार चार सय ६८ जनसङ्ख्या रहेको छ। होस्टल, इन्स्टिच्युट वा ब्यारेकमा बस्दै आएकालाई संस्थागत जनगणना भनी राखिएको छ। पर्वतमा त्यस्तो जनसंख्या ९ सय २३ रहेको देखिएको छ।
जिल्लामा पुरुषको कुल संख्या ६१ हजार ६ सय ७८ र महिलाको संख्या ६९ हजार २ सय ९ रहेको छ। तथ्यांक सहायक पौडेलका अनुसार जिल्लामा कुल परिवार संख्या ३६ हजार १ सय ३७ रहेको पाइएको छ भने परिवारको औसत आकार (परिवारमा सदस्य संख्या) तीन दशमलव ६२ देखिएको छ। तर, २०६८ को गणनामा परिवारको औसत आकार शून्य दशमलव १ थियो । यो तथ्यांकले सन्तान कम जन्माउने वा संयुक्त परिवारभन्दा एकल परिवारमा बस्न रुचाउनेको संख्या बढी भएको देखिएको छ।
जिल्लाका ३६ हजार एक सय ३७ परिवारमध्ये ११ हजार सात सय ७२ वटा परिवारबाट कम्तीमा पनि एक जना विदेशमा बसोबास गर्ने गरेको पाइएको छ। ती परिवारबाट दुई हजार तीन सय ३२ महिला र १४ हजार एक सय १४ पुरुष गरी कुल १६ हजार चार सय ४६ जना वैदेशिक रोजगारीमा रहेको देखिएको छ।
यस्तै, चार हजार दुई सय ५९ जनामा अपांगता रहेको तथ्यांक सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्यांकअनुसार पाँच वर्ष वा सोभन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता प्रतिशत देशभरमा ७६ दशमलव दुई प्रतिशत रहेकामा पर्वतमा भने ८० दशमलव १२ प्रतिशत रहेको छ। यसपटक भएको जनसं्ख्या देशको १२औँ जनगणना हो । यसपटकको गणना ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ सञ्चालन गरिएको थियो।



