सिन्धुपाल्चोक– गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी। केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुरा पनि। सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराउ छन्। वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनी कृषि पेसामा आकर्षित भएको हो।
विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनको गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन्। लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उहाँ कृषि पेसामा आकर्षित भएको बताउँछन्। ‘आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि?’ उनले भने।
देशमा थुप्रै राजनीतिक परिवर्तन भए। देशको व्यवस्था फेरियो। तर, राजकुमारको अवस्था भने फेरिन सकेन। उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे। उनी मलेसिया हुइँकिए। उजाड सपना, केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो वचनले २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन्।
‘मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख बेहोरेको छु’, उनले भने। मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनी त्यहाँबाट भागेर स्वदेश फर्किए। स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योल उनको मनबाट हटेन र फेरि कतार गए। कतारमा उनले विमानस्थलमै काम पाए तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै फेरि स्वदेश फर्किए।
घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए। दुबईमा पेट्रोलपम्पमा काम पाए। तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाइ नभएपछि उनी फेरि स्वदेश नै फर्किए। विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा ५ लाख लिएर फर्किएको बताउँछन्।
७५ लाखको लगानी
गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर ७५ लाखको लगानी रहेको बताउँछन्। दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट ६० लाख ऋण लिएको बताउँछन्। ‘मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु। ३५ लाखका बस्तु मात्रै छन्’, उनले भने।
सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनी सुनाउँछन्। ‘सुरुमै यत्रो लगानी गर्छु भन्दा त घरपरिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो’, उनले भने। अहिले भने ढकालको परिवारमा खुसी छाएको छ। उनको हिम्मतले आज सफलता र खुसी बनाएको छ।
विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक ३ लाख आम्दानी गर्छन्। गाईवस्तुको आहारबाहेक उनको मासिक डेढ लाख बच्छ। ‘महिनामा ३ लाख कमाउँछु। त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि’, उनले भने। पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँछन् उनी। जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनी सुझाउँछन्।
आफ्नै उत्पादन, आफ्नै व्यापार
राजकुमारको काम दूध मात्रै उत्पादन गर्ने होइन, उनी दूध बेच्ने पनि गर्छन्। उनको आफ्नै दूध डेरी पनि छ। मेलम्ची बजारमा उनले गाईभैँसीपालनसँगै दूध पनि आफ्नै डेरीबाटै बेच्छन्। उत्पादन गरेको दूध अन्त लैजानुपर्ने झन्झट उनलाई छैन। दैनिक १२० लिटर दूध उत्पादन हुने उनको गाई फार्मबाटै मनग्य दूध पुग्दछ। आफ्नै उत्पादित दूधबाट उनी पनिरलगायत अन्य परिकार पनि बनाउने गरेको बताउँछन्।
जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष संघर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो। मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा संघर्ष गरेका ढकाल गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो।
सुरुमा ५ लाख लगानी गरेर कुखुरापालनसमेत गरेका उनी हतार र हतास गर्न नहुने बताउँछन्। उनी सफलता मानिसको पछि–पछि आउने गरेको सुनाउँछन्। ‘हामी हतार र हतासी बन्न नहुने रहेछ। धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ’, उनले भने।-देवराज सुवेदी/रासस



