काठमाडौँ– चालु आर्थिक वर्षको ११ महिनामा नेपालको शोधनान्तर स्थिति करिब २ खर्ब २९ अर्बले बचतमा रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवका ११ महिनाको तथ्यांकले नेपालको शोधनान्तर स्थितिसँगै विदेशी मुद्राको सञ्चितिसमेत सुविधाजनक अवस्थामा रहेको देखाएको हो।
अघिल्लो आर्थिक वर्षका ११ महिनामा नेपालको शोधनान्तर स्थिति २ खर्ब ३९ अर्ब ८१ करोड घाटामा थियो। गत आर्थिक वर्षको तुलनामा यस वर्ष चालुखाता घाटा पनि उल्लेख्य रुपमा सुधार भएको छ। समीक्षामा अवधिमा नेपालको चालु खाता घाटा ६९ अर्ब ४० करोड रुपैयाँमा छ। गत आर्थिक वर्षको ११ महिनामा यस्तो घाटा ५ खर्ब ९२ अर्ब रुपैयाँ घाटामा थियो।
रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई यस वर्षका ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ भित्रिएको छ। गतवर्षको तुलनामा आयात र निर्यात दुवै घटेकाले खुद ट्रान्सफर पनि घट्दा चालु खाता घाटामा सुधार देखिएको हो।
समीक्षा अवधिमा विदेशबाट प्राप्त हुने पेन्सन तथा रेमिट्यान्ससहित खुद ट्रान्सफर २१.९ प्रतिशतले बढेर १२ खर्ब ३० अर्बको हाराहारीमा रहेकाको छ। यसले पनि चालु खाता घाटा कम गर्न सहयोग पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य गत वर्षको तुलनामा करिब ४०.४ प्रतिशतले घटेको छ। गत वर्षको यसै अवधिमा १२७ .०२ डलर प्रतिब्यारेल मूल्य रहेको पेट्रोलियम पदार्थको मूल्य घटेर ७५.७५ डलर प्रतिब्यारेल कायम भएको छ।
यसैगरी सुनको मूल्य भने अन्तर्राष्ट्रिय बजारमा गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष प्रतिऔँस (एक औँसमा २८.३४९५ ग्राम हुन्छ) ७.४ प्रतिशतले बढेको छ। गत वर्ष प्रति औँस सुनको मूल्य प्रतिऔँस १८१८.३० डलर रहेकोमा यो तथ्याङ्क तयार पार्दासम्म बढेर १९५२.३५ डलर प्रतिऔँस पुगेको छ।
नेपालमा सर्वाधिक आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीले नेपालको व्यापारघाटा कम गर्न तथा सञ्चिति बढाउन मद्दत गरेको छ। सुनको मूल्यमा भएको वृद्धिले नेपालको सञ्चितिमा घटाउने भूमिका खेलेको देखिन्छ। यद्यपि रेमिट्यान्समा भएको वृद्धि, आयातमा आएको गिरावट र पेट्रोलियम पदार्थको मूल्य घटेकाले नेपालको विदेशी मुद्राको सञ्चिति सहज स्थितिमा रहेको देखिन्छ।
समीक्षा अवधिमा विदेशबाट प्राप्त हुने पेन्सन तथा रेमिट्यान्ससहित खुद ट्रान्सफर २१.९ प्रतिशतले बढेर १२ खर्ब ३० अर्बको हाराहारीमा रहेकाको छ। यसले पनि चालु खाता घाटा कम गर्न सहयोग पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कनुसार नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थासँग भएको विदेशी मुद्राको सञ्चितिले ११.२ महिनाको वस्तु र ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिन्छ। गत असारमा ९ अर्ब ५४ करोड डलर बाराबरको सञ्चिति रहेकोमा उक्त सञ्चिति ११ महिनामा १८.५ प्रतिशतले बढेर ११ अर्ब ३० करोड कायम भएको छ। नेपाली मुद्रामा यस्तो सञ्चिति करिब १४ खर्ब ८० अर्ब ८७ करोड पुगेको छ। कुल सञ्चितिमध्ये राष्ट्र बैंकको सञ्चिति गत असार मसान्तको तुनलामा २५.१ प्रतिशतले बढेर १३ खर्ब २१ अर्ब २५ करोड रहेको छ । यस्तै बैंक तथा वित्तीय संस्थासँग गत आसार मसान्तको तुलनामा ०.१ प्रतिशतले बढेर १ खर्ब ५९ अर्ब ६३ करोड कायम भएको छ।
यस अवधिमा अमेरिकी डलरसँग नेपाली मुद्रा २.७१ प्रतिशतले अवमूल्यन भएको छ। गत वर्षको यसै अवधिमा नेपाली मुद्रा डलरको तुलनामा ४.४३ प्रतिशतले कम्जोर भएको थियो। नेपाली मुद्रा कम्जोर हुँदा आयातको भुक्तानी विदेशी मुद्रामा हुने भएकाले त्यसमा नकारात्मक असर पर्ने हुन्छ। डलर महँगिएकाले भारतीय मुद्रा समेत कम्जोर भएकाले भारतबाट आयात हुने थप महँगो भएको छ। यस्तै डलरबाट भुक्तानी हुने देशबाट आयात हुने वस्तुहरुमा पनि त्यसको स्भाविक प्रभाव परेको देखिन्छ। यस्तै, डलर अधिमूल्यन हुँदा निर्यात हुने वस्तुहरुले फाइदा प्राप्त गर्छन्। तर,नेपालबाट निर्यात हुने वस्तु आयातको तुलनामा न्युन रहेकाले तुलनात्मकरुपमा बढी लाभ प्राप्त गर्न सकिरहेको छैन।
विदेशमा रहेका नेपालीहरुले डलर अधिमूल्यन हुँदा बढी नेपाली रकम प्राप्त हुने आसामा बढी रेमिट्यान्स पठाउँछन्। नेपाली अबमूल्ययन भएको लाभ पाउने अपेक्षाले गर्दा पनि चालु आर्थिक वर्ष विप्रेषण बढाउने एक महत्वपुर्ण पक्ष हो। चालु आर्थिक वर्षको ११ महिना उपभोक्तामा मूल्य सुचाङ्कमा आधारित मुद्रास्फीति लक्ष्यभित्र कायम भएको छ। चालु आर्थिक ७.५ प्रतिशतको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखिएकोमा हाल ६.८३ प्रतिशत कायम भएको छ।
