संखुवासभा– संखुुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित दुई वर्षदेखि त्रिपालमुनि बास बस्न बाध्य छन्। विस्थापित ९७ परिवार त्रिपालमुनि कष्टपूर्ण जीवन बिताउँदै आएका छन्। २८ असार २०७९ राती आएको पहिराले सिलिचोङ–१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना बेपत्ता भएका थिए।
सरोकारवाला निकायले चासो नदेखाउँदा विस्थापित परिवारको बिचल्ली भएको छ। पहिरोले घर बगाएका पीडितसित ओत लाग्ने ठाउँ छैन। पहिरोबाट विस्थापित परिवारमध्ये २५ परिवार चित्रे, १२ परिवार बखल्टुमटार र अन्य खाँदबारीमा अस्थायी रूपमा बसिरहेका गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए।
‘भवन निर्माणका लागि बजेट अभाव छ’, उनले भने। गाउँपालिकाले पहिरोपीडितको आवास निर्माणका लागि ५ लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ। पहिरोपीडितका लागि संघीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो। पानी पर्न थालेपछि उनीहरुलाई घर बगाउने चिन्ता रहन्छ।
जोखिम भए पनि अन्यत्र जाने ठाउँ नभएपछि केही परिवार बेसिन्दामै बसिरहेका छन्। गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले खाँदबारी नगरपालिका–७ स्थित भैरेडाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा १ करोड ३० लाखमा खरिद गरिसकेको छ। तर, भवन निर्माणको टुंगो लागेको छैन।



