काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहालको वियोगका बेला सबैबाट पाएको साथले पीडाबाट निस्किन सहयोग गरेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको प्रचण्डको भनाइ थियो। सीताको उपचारमा संलग्न चिकित्सकलगायत सबैलाई धन्यवाद ज्ञापन गरे।
‘शोकको यो घडीमा यहाँहरुको साथ, समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस गरेका छौँ, मैले र हाम्रो परिवारले,’ सभामा प्रधानमन्त्री प्रचण्डले भने।
पीएसपी रोगबाट लामो समय थलिएकी सीता दाहालको गत असार २७ गते काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो।
सीता बिरामी परेपछि राज्यबाट कुनै सुविधा नलिई उपलब्ध र लाभदायी हुन सक्ने सबैखाले पद्धतिबाट उपचारको प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको दाबी छ। शोकको घडीमा मित्र राष्ट्र र संसारका सबैजसो राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुबाट आत्मीय सहानुभूति र ऐक्यबद्धता पाएको भन्दै उनले कृतज्ञता व्यक्त गरेका थिए।
श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको सहभागिता थियो।


