२०८३ कार्तिक ११ गते मङ्गलबार

एजेन्डाबाट भड्किएर आलोचना र प्रशंसाको जुहारीमा कांग्रेस बैठक

 |  तीर्थराज बस्नेत
Sanket

तीर्थराज बस्नेत

काठमाडौँ, साउन ५
congresscc (2)
कांग्रेस केन्द्रीय समिति बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस ४ दिनयता केन्द्रीय समिति बैठकमा व्यस्त छ। विधानतः प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठकलाई धकेलेर‍ एक वर्षपछि बल्लबल्ल सुरु भएको बैठकमा चौथो दिनसम्म १२० जना नेताहरूले बोलिसकेका छन्। तर अधिकांश केन्द्रीय सदस्यहरु बैठकका एजेन्डामा प्रवेश नै गर्दैनन्, गर्छन् त केवल नेतृत्वको आलोचना या प्रशंसा।

कांग्रेसमा नेतृत्वको आलोचना या प्रशंसा नौलो होइन। तर यसपालि सभापतिसँगै पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पनि आलोचना र प्रशंशा भइरहेको छ। महामन्त्री थापाले ल्याएको एक वर्षे कार्ययोजनामा मात्र होइन, उनलाई आलोचना गर्न बैठकका एजेन्डाबाट बहकिएर उनका अभिव्यक्तिलाई केन्द्रमा राखेर आलोचना र प्रशंशामा केन्द्रीय सदस्य खनिएका छन्। थापालाई सघाएको आरोपमा शर्मामाथि खनिनेहरू पनि छन्। उनका प्रशंसक पनि देखिएका छन्। 

बैठकको सुरुमा नै महामन्त्री शर्माले बैठकका लागि छलफलमा १० एजेन्डा दिएका थिए। तर यी एजेन्डालाई छुँदै नछोई कांग्रेसका केन्द्रीय सदस्यले धारणा राखिसक्छन्।

सात दशक राजनीतिका जीवनमा थुप्रै आरोहअवरोह देखेको/भोगेको कांग्रेस पहिलो पटक केन्द्रीय समिति बैठकलाई लाइभ प्रसारण गरिरहेको छ। बैठक लाइभ हुँदा कांग्रेसको बैठक सञ्चालनको प्रद्धति र हुने छलफल पारदर्शी बनेको छ। सभापति शेरबहादुर देउवाकै प्रस्ताव अनुसार भइरहेको प्रत्यक्ष प्रसारणले केन्द्रीय समिति बैठकका धेरै कुरा उजागर भएका छन्।

नेताहरुले राख्ने धारणा, उनीहरुको सोच, क्षमता र अभिव्यक्ति कार्यकर्ता र जनताले प्रत्यक्ष हेर्न पाएका छन्। चार दिन (मंगलबार देखि शुक्रबारसम्म) को बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरु एजेन्डाबाट भड्किएको देखिन्छ।

समसामयिक विषय, सांगठनिक योजना (वार्षिक क्यालेन्डर), कार्यसम्पादन समितका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशन, विभाग बारे, देशव्यापी अभियानबारे,अनुशासन समितिको प्रतिवेदन,संसद् बारेको प्रतिवेदन, सरकारबारेको प्रतिवेदन बैठकका एजेन्डा हुन्। यी एजेन्डामा तयारी साथ केन्द्रीय सदस्यहरुले धारणा राख्नुपर्ने हो। तर उनीहरु एजेन्डाबाट भड्किएर आलोचना र प्रसंशामा समय खर्चिइरहेका छन्।

केन्द्रीय समिति बैठकमा आरोप/प्रत्यारोप चलिरहेको छ। आएका प्रस्ताव माथि संशोधन, सुधार वा परिमार्जनको सुझाव दिने कुरामा अधिकांश केन्द्रीय सदस्यहरुको ध्यान छैन। सुझाव दिनेहरुले पनि प्रष्टरुपमा यसो गरौं भन्न सकेका छैनन्। जनजिविकाका मुद्दा अधिकांशका लागि गौण छन्।

नयाँ दलहरुको उदय र स्थापति दलप्रतिको वितृष्णाको कारण खुट्याउन र त्यसको निदानको उपाय खोज्ने तर्फ मन्थन केन्द्रित छैन। बरु पार्टी र नेता विरुद्ध सामाजिक सञ्जालमा फेस एकाउन्ट बनाएर अभियान छेडिएको बुझ्नेहरुको संख्या धेरै छ। त्यसविरुद्ध पार्टीले संगठितरुपमा अभियान चलाउनुपर्नेसम्मका अभिव्यक्ति दिइरहेका छन्। पार्टीको पुनर्जीवन, जनताको विश्वास जित्ने योजना र कार्यक्रमबारे छलफल शून्यप्रायः छ।

केही केन्द्रीय सदस्यहरुले पार्टीको भविष्यबारे चिन्ता व्यक्त गरिहेका छन्। जनजीविकाका विषयमा पनि थोरबहुत बहस गरिरहेका छन्। चुनौती सामाना गर्ने उपाय पनि सुझाएका छन्। तर, त्यस्ता केन्द्रीय सदस्यहरुको नगण्य छ। त्यसप्रति धेरै केन्द्रीय सदस्यको चासो पनि छैन। 

अधिकांश केन्द्रीय सदस्यको आलोचना र प्रसंशा गर्नमै केन्द्रीत छ। शुक्रबारको बैठकमा बोलेका केन्द्रीय सदस्य बलबहादुर केसीको चिन्ता पनि यसैमा देखिन्थ्यो। उनले बैठकमा देखिएको दृश्यबारे चिन्ता व्यक्त गर्दै भनेका थिए, ‘महाधिवेशनमा जुन समूहबाट लडे पनि निर्वाचित भएपछि शेरबहादुर देउवा सबैको सभापति हो। महामन्त्री एउटा र सभापति अर्को क्याम्पमा जस्तो गरी केन्द्रीय समितिमा बहस भइरहेका छन्। कसले के बोले छाड्नुस्, यो बैठकले सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम भयो।’ केन्द्रीय सदस्य राजिव ढुंगानाले बैठकमा एकअर्कालाई खुल्याउने प्रतिस्पर्धा चलिरहेको बताए।

बलबहादुर केसी

‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं, सभापतिलाई खुइल्याउन पाए सबैभन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेझैं गरी खुइल्याउँछौं,’ उनले भने, ‘पदाधिकारी र महामन्त्रीलाई खुइल्याउन व्यस्त छौं। ए महामन्त्रीहरू तिमीहरू अर्काको आलोचना गरेर स्थापित हुने भनेर खुइल्याउन लागेका छौं।’

संस्थापन पक्षका केन्द्रीय सदस्यहरु सभापति देउवाको प्रसंशामा केन्द्रित छ। पार्टीलाई पहिलो बनाएको, पुस १० गते सरकार गठनका क्रममा भत्किएको चुनाव अघिको गठबन्धनलाई ब्युँत्याउन सफल बनेको र त्यसका कारण राष्ट्रपति पाएको, केन्द्र र प्रदेशमा पार्टी सरकारमा पुगेकाले देउवा बधाई र धन्यवादको पात्र रहेको जिकिर ती केन्द्रीय सदस्यहरुको छ। उनीहरुले एकातिर देउवाको प्रसंशा गरिरहेका छन् भने अर्कोतर्फ देउवा माथि पार्टीकै नेताहरुले विभिन्न माध्यमबाट आलोचनात्मक टिप्पणी गरेकोमा असन्तुष्टी व्यक्त गरिहेका छन्।

देउवाबारेका आलोचनात्मक टिप्पणी प्रति उनीहरु असन्तुष्ट मात्रै देखिएका छैनन्, आक्रमक समेत देखिन्छन्। देउवाका आलोचकहरुलाई उनीहरुले कडा शब्दमा आलोचना गरिरहेका छन्। केन्द्रीय समितिमा देउवाको प्रचण्ड बहुमत छ। त्यसकारण देउवाको प्रसंशा गर्ने र देउवाका आलोचकको आलोचना गर्नेहरुको संख्या धेरै छ।

खासगरी उनीहरुको निशानामा महामन्त्री थापा र शर्मा परेका छन्। कतिसम्म भने सभापति देउवाको विकल्प खोज्ने र कांग्रेसलाई बदल्ने योजनामा रहेका महामन्त्रीद्वयकै विकल्प खोज्नेसम्मको अभिव्यक्ति संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुको छ। जनता माझमा पुराना पार्टीहरु भ्रष्टाचारमा लिप्त छन् र भ्रष्टाचारमा मुछिएकाहरुको बचाउ गर्छन् भन्ने स्थापित भाष्य हो। नयाँ राजनीतिक दलले उठाइरहेको प्रमुख एजेन्डा यही नै हो। यसलाई चिर्नुपर्ने चुनौती कांग्रेसलाई पनि छ।

लक्ष्मी खतिवडा।

जनता माझ स्थापित कांग्रेसप्रतिको भाष्यलाई थप बल पुग्ने गरी कांग्रेसमा बहस भइरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाणका पक्षमा चर्किएर भइरहेका बहसले त्यही कुराको संकेत गर्छ। कानुनी राज्य र कानूनी सर्वोच्चतालाई मान्ने दलले अभियोग लागे नेता कार्यकर्तालाई मुद्दा किनारा नलागुन्जेलका लागि निलम्बन गर्दा घाटा हुँदैन। अदालतले दोषी ठहर्‍याए उसको पद जान्छ, सफाइ पाए पार्टीमा क्रियाशील हुने बाटो खुलै रहन्छ। यसले पार्टीकै शाखलाई उचो बनाउँछ। तर परम्परालाई तोड्न नसकिने तर्क केन्द्रीय सदस्यहरुले गरिरहेका छन्।

परम्पराकै निरन्तरताले नयाँ चुनौतीलाई फेस गर्न नसकिने तथ्य बुझ्न नसकेर होस् या पक्षमा बोल्दा प्राप्त हुने लाभलाई हेरेर किन नहोस् संस्थापन पक्षका केन्द्रीय सदस्यहरु खाणका पक्षमा आक्रमक देखिन्छन्। खाण पक्राउ पर्दा केही नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएको भन्दै उनीहरुले आगो ओकली रहेका छन्। उनीहरु भन्दैछन्- आफ्नै नेता पक्राउ पर्दा गृहमन्त्रीलाई भेट्न जाने? खुसी मनाउने? अदालतले फैसला नगर्दै दोषी करार गर्ने? फेसबुकमा लेख्ने? मिडियामा बोल्ने? अदालतमा विचाराधिन मुद्दामा बोल्न मिल्ने कि नमिल्ने? संस्थापन पक्षका अधिकांश नेता खाणका पक्षमा खुलेका छन्। 

केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, राधा घले, चन्द्र केसी, जितजंग बस्नेत, ध्रुव वाग्ले, सरिता प्रसाईँ, ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, अजयकुमार चौरसिया, गोपालमान श्रेष्ठ लगायतका नेता खाणका पक्षमा उभिएका छन्। उनीहरु एकातिर अदालतमा विचाराधिन मुद्दामा बोल्न नमिल्ने भन्दै पार्टीका नेताहरुले दोषी करार गर्न खोजेको भन्दै असन्तुष्टि जनाइरहेका छन्।

अर्को तर्फ खाणलाई जोगाउन नसकिएको, पार्टीले काँध नथापेको जस्ता विरोधाभासपूर्ण तर्क पनि गरिरहेका छन्। अभियोग लागेपछि पार्टी जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने तर्कलाई फैसला सुनाउने काम भएको भन्दै आलोचना गर्ने ती केन्द्रीय सदस्यहरुले जोगाउन नसकिएको भनेर जोगाउनुपर्थ्यो/सकिएन भनेर निर्दोष भएको फैसला सुनाइरहेका छन्। त्यस्तै तर्क शुक्रबारको बैठकमा गोपालमान श्रेष्ठ र मीन विश्वकर्माले गरेका थिए।

मीन विश्वकर्मा।

‘एउटा साथी पुर्पक्षमा थुनिएको छ। त्यहाँ पुग्नबाट उसलाई रोक्न सकिन्थ्यो किन रोकिएन,’ शुक्रबारको बैठकमा श्रेष्ठले भनेका थिए ‘त्यो साथीलाई किन रोक्न सकिएन। पुर्पक्षमा जसलाई पनि राख्न पाउँछ। दोषी ठान्न भएन। उहाँका बारेमा यसरी छलफल नगरौं। हाम्रो परिवारको एक सदस्य कारागारमा छन्। भोलि निर्दोष सावित हुन सक्छन्।’ श्रेष्ठको जस्तै तर्क विश्वकर्माको पनि थियो। अझ उनले त अन्य पार्टीले अभियोग लागेका सदस्यलाई जोगाउन लागिरहेको तर कांग्रेसको केन्द्रीय समितिमै छलफल भइरहेको भन्दै आपत्ति जनाएका थिए।

‘कांग्रेस भनेको एउटा घर हो, परिवार हो। घरको सदस्यलाई लान्छना लाग्दा छिटो पक्राउ गर भन्दै गृहमन्त्रीकहाँ जाने? परिवारको सदस्य अभियोगमा मुछिएमा वकिल राख्छौं कि थानामा लगेर बुझाउँछौं?,’ उनले भनेका थिए, ‘कांग्रेस सर्वोच्च अदालत हो? ठहर गर्नलाई? अहिले एक जनालाई अभियोग लागेको छ। वडासम्म लाग्दा कांग्रेसको अवस्था के हुन्छ? ले अभियोग लागेका पार्टीका व्यक्ति जोगाउन अरू पार्टी लागिरहेका छन्। तर कांग्रेसले भने केन्द्रीय समितिमा छलफल भइरहेको छ।’

संस्थापन पक्ष खाणको बचाउमा उत्रिरहेको छ। तर खाणलाई निलम्बन गर्नुपर्ने माग राख्ने नेताहरुको संख्या भने सानो छ। अहिलेसम्म प्रष्ट भाषामा खाणलाई निलम्बन गर्नुपर्ने माग अजयवावु शिवाकोटीले मात्र राखेका छन्। विहिबारको बैठकमा उनले भनेका थिए, ‘यतिखेर कांग्रेस प्रचण्ड नेतृत्व सरकारको मुख्य हिस्सेदार हो। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई अलग अलग आरोपमा पुर्पक्षको लागि थुनामा पठाएको छ। सभापतिज्यू यो प्रकरणमा हाम्रो दुविधा अचम्मकै छ। खाँडप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नु पर्‍यो होइन भने आफ्नै साथीहरु संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्वन गर्नुपर्छ की पर्दैन ? यसमा की थुनामा हुने दोषी हुनुपर्‍यो की थुनामा पठाउने सरकारमा रहेका हाम्रै मन्त्रीहरु पूर्वाग्रही हुनुपर्‍यो।’

अर्का केन्द्रीय सदस्य मधु आचार्य खाणको नाम त लिएनन्, तर अभियोग लागेकाहरु स्वतः निलम्बन भएका मानिनेगरी केन्द्रीय समितिले निर्णय गर्नुपर्ने धारणा राखेका थिए। ‘हिजो भ्रष्टचार विरोधी आन्दोलनको नेतृत्व पहिले पनि नेपाली कांग्रेसले गरेको हो। आजका दिनमा बहुचर्चित भ्रष्टचार काण्ड छानबिन गर्न सरकारलाई कांग्रेसले दाबाव दिनुपर्छ। आवश्यक परे सडकमा उत्रिन हामी तयार हुनुपर्छ,’ उनले भनेका थिए, ‘छानबिनको क्रममा दोषी देखिए म त यो त्यो मन्त्री राज्यराज्य पूर्व मन्त्री प्रधानमनन्त्री भनेर हुँदैन कारवाहीको दायर भित्र ल्याउन दबाव दिनुपर्छ। कांग्रेसले व्यक्ति हेर्दैन, एजेन्डा हेर्छ भन्ने कुरा स्थापित गर्न जरुरी छ। हामीले अख्तियार अख्तियार दुरुपयोग गरेको वा भ्रष्टचारको कुनै पनि घटनामा पार्टीको नेता वा सदस्य दोषी देखिएमा स्वतः निलम्बन भएको मानिनेछ भनेर नीतिगत निर्णय गरौं। यति भएपछी व्यक्ति तर्फ गइरहनुपर्दैन।’

प्रदीप पौडेलले खाणको नाम नलिईकन छानबिनमा सहयोग गर्नुपर्ने धारणा राखे।  ‘भ्रष्टाचारका काण्डलाई निष्पक्ष छानविन गर्न कांग्रेसले सहयोग गर्नुपर्छ। गणतन्त्रपछिका चर्चित काण्डको छानविन गर्न कांग्रेसले गर्नुपर्छ। गणतन्त्र पछि सबै नेताको छानविन गर्न कांग्रेसले नेतृत्व गर्नुपर्छ। व्यक्तिले कमजोरी गर्न सक्छ पार्टीले गर्न सक्दैन,’ उनले भनेका थिए।

खाणको विषयमा मात्रै होइन, महामन्त्री थापाले संसदीय दलको नेता फेर्ने प्रयास गर्ने भनेर दिएको अभिव्यक्तिले पनि केन्द्रीय समिति तताएको छ। संस्थापन समूहका केन्द्रीय सदस्यहरुले थापाको अभिव्यक्तिलाई लिएर आलोचना गरिरहेका छन्। शुक्रबारको बैठकमा थापाको अभिव्यक्तिबारे केन्द्रीय सदस्यले प्रश्न उठाएका थिए।

‘अहिलेको आवश्यकता संसदीय दल नेता फेर्ने हो? सभापति फेर्ने हो? अहिलेको आवश्यकता पार्टी मजबुद बनाउने, सुशासन र डेलिभरी दिने हो,’ उनले भनेका थिए, ‘के सभापति वा संसदीय दल नेता अहिले परिवर्तन गर्न सम्भव छ? यो उचित छ? यो बाटो हिँडेर कांग्रेसलाई कहाँ पुर्‍याउन खोजिएको हो? आजैका मितिदेखि संसदीय दल नेता फेर्ने कुरा करेक्सन गरेर पार्टी एकताबद्ध बनाएर जानुपर्छ।

बिहीबार गण्डकीका मुख्यमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पनि भ्रम नछर्न आग्रह गरेका थिए। ‘संसदीय दल नेता छान्ने र हटाउने विधानकै व्यवस्था छ। यो अभ्यास गर्न सभापतिले पनि रोक्न सक्नुहुन्न। तर कुन समयमा संसदीय दल नेता चयन गर्ने र हटाउने हो? संसदीय दल नेता हटाउँछु भन्दै हिँडेर अतिरञ्जित नगरौं,’ उनले भनेका थिए।

केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले समय र परिस्थिति नै नहेरी अभिव्यक्ति दिने काम गर्न हुने तर्क गरेका थिए। ‘गगनजी प्लिज वेट। एउटा व्यक्तिविशेषलाई संसदीय दल नेता र सभापति चाहियो भन्दैमा समय र परिस्थितिलाई ख्याल नै नगरी बेमौसमी बाजा बजाउँदै हिँड्दा जन्ती पाइन्न कि, त्यतातिर ध्यान जाओस्,’ उनले भनेका थिए।

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले त महामहान्त्रीहरु विकल्प खोज्न नपरोस् भने चेतावनी दिएकी थिइन्। ‘तपाईंहरू अरू कसैको विकल्प खोज्छौं भन्दै हिँड्नुभएको छ, तपाईंहरूको विकल्प पनि हामीले खोज्नुपर्ने अवस्था नआओस्,’ उनले भनेकी थिइन्।

कांग्रेस बैठकमा बोल्ने नेताको संख्या १२० पुग्यो

प्रकाशित: २०८० साउन ५ गते शुक्रबार ०८:३८
Sanket

तीर्थराज बस्नेत

बस्नेत राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना