काठमाडौं– आज नेपाली समाजमा खीर खाएर १५ साउन मनाइँदै छ। वर्षा ऋतुका बेला १५ असारमा दहीचिउरा र १५ साउनमा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो।दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ।
संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन्।
साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। राम्रो धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो।
साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मन पर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुन सक्ने धर्मशास्त्रविद् भट्टराई बताउँछन्। तर, यसको कुनै शास्त्रीय वचन भने छैन।
ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन्। चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ। साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी साउनमा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ। खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ। नेपाली समाजमा १५ असारमा दहीच्यूरा, १५ साउनमा खीर, १५ भदौमा पोलेको मकै, १५ पुसमा घिउ खट्टे, १५ माघमा मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।
दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ। बोर्डको १५ फागुन २०७७ मा बसेको बैठकले १५ साउनलाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रतिएक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ।

