काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझै विश्वसनीय र जनताको सेवामुखी बनाउनुपर्ने बताएका छन्। नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवा अन्तर्गतको मध्य एयरवेशको निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो आग्रह गरेका हुन्।
सेनाले हरेक अप्ठ्यारो परिस्थितिमा पनि हवाई सेवा दिइरहेको भन्दै उनले सरकारले सधैं उच्च मूल्यांकन गरिरहेको स्पष्ट पारे। नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार तथा रक्षा मन्त्रालय सधैं तयार रहने उनको भनाइ थियो।
‘तपाईंहरू एकातिर सैनिक र अर्कोतिर हवाई अनुशासनमा बस्ने पेशामा हुनुहुन्छ।तपाईंहरूको देश प्रेम र जनताप्रतिको सेवाभाव सरकारले बुझेको छ, त्यसैले सेवालाई अझै गुणस्तरीय बनाउनुहोस्,’ रक्षामन्त्री समेत रहेका खड्काले भने।


