काठमाडौँ- नेपाली कांग्रेसले सांसद सुनिल शर्माको पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ। कांग्रेसको संसदीय दलको शुक्रबार बसेको बैठकले यस्तो ठहर गरेको हो।
‘यो आपत्तिजनक र अप्रत्यासित छ। दलको बैठक जारी छ। यसबारेमा हामी थप अध्ययन, छलफल गरेर आइतबार निर्णय गर्छौं’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भने। नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो।
नेता लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठक आइतबार साढे १२ बजे पुनः बस्नेछ। शुक्रबारको बैठकमा १९ जना सांसदहरुले धारणा राखेका छन्। यसबाहेक कांग्रेसले जनजीविकाका सवालमा अन्य चारवटा विषयमा निर्णय गरेको छ।
