काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्युरो र राजस्व अनुसन्धान विभागले लिन नमानेपछि अध्यागमन विभागले पक्रेका रोहन अडुकिया रिहा भएका छन्। सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको अनुरोधमा कालोसूचीमा राखेको अध्यागमन विभागले दुवै निकायलाई बुझाउन खोज्दा दुवै निकायले लिन अस्वीकार गरेपछि अध्यागमनको हिरासतबाट मुक्त गरिएको हो।
शनिबार बिहान ११ बजेतिर अडुकियालाई छाडिएको अध्यागमन स्रोतको भनाइ छ। उनलाई बोलाएको बेला हाजिर हुने गरी रिहा गरिएको हो।
शुक्रबार दिउँसो दिल्लीबाट एयर इन्डिगोमा काठमाडौं आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले पक्रेको थियो। तर सुन तस्करीमा उनको सम्बन्धन पुष्टि नभएको भन्दै दुवै निकायले बुझ्न अस्वीकार गरेका थिए।
शुक्रबारै काठमाडौंबाट चीन जान लाग्दा पक्राउ परेका दुई जना चिनियाँलाई पनि रिहा भएका छन्। ली जियालिङ र लिउ फुयान शुक्रबार बिहान ९ बजेको हिमालयन एयरको उडानबाट चीन जान लागेका बेला पक्राउ परेका थिए।
राजश्व अनुसन्धान विभागले उनीहरूलाई कालोसूचीमा राख्न अनुरोध गरेपछि अध्यागमन विभागले उनीहरूलाई पक्राउ गरी सिआइबीलाई बुझाएको थियो। तर उनीहरूको संलग्नता पुष्टि हुने प्रमाण नदेखिएको भन्दै रिहा गरिएको सीआईबीले जानकारी दिएको छ।
सय किलो सुन प्रकरणमा अहिलेसम्म १७ जना सिआइबीको हिरासतमा छन्। भन्सार एजेन्ट रूक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। यो प्रकरणमा साउन १४ गते बेल्जियन नागरिक दावा छिरिङ, साउन १० गते नरेश भन्ने सुरेन्द्र तामाङ पक्राउ परेका थिए।
यसैगरी भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टयादवशंकर पराजुली र सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो।


