काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले प्रधानमन्त्रीले माग सम्बोधन गर्न कार्यदल गठन गरे पनि त्यसको आधिकारीक पत्र नआएकाले आन्दोलनका कार्यक्रम नरोक्ने बताएका छन् । अर्थमन्त्री डा. प्रकासशरण महतसँगको छलफलपछि उनले निर्माण व्यवसायीका माग सम्बोधन गर्ने दिसामा सरकार अघि बढे पनि हाललाई आन्दोलनका कार्यक्रम नरोक्ने बताए ।
‘प्रधानमन्त्रीले माग सम्बोधन गर्न वार्ता टोली बनाएको भनेर बोधार्थ गरिएको छ । आधिकारीक रुपमा पत्र आएको छैन । अर्थमन्त्रीले पनि सम्पन्न भएको कामको बीलको भुक्तानी दिने आश्वासन मात्र दिनुभयो’ उनले भने, ‘तथापी, पनि पूर्वसूचित आन्दोलनका कार्यक्रम रोकिँदैनन् ।’
निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी माग गर्दै निर्माण व्यवसायीले गत साउन १२ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । आइतबार निर्माण व्यवसायीले सिँचाइ तथा सडक विभागमा तालाबन्दी गर्ने प्रयास गरेपछि प्रहरीले ५० जनाभन्दा बढी निर्माण व्यवसायीलाई धरपकड गरेको थियो । निर्माण व्यवसायीहरुले सडक र सिँचाइ विभागमा धर्ना गर्ने तथा सडक चक्काजाम गर्नेसम्मका आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिइसकेका छन् ।
