दोरम्बा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने दाबी गरेका छन्। बिहिबार नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त जिकिर गरेका हुन्।
देशको व्यवस्थामा परिर्वतन ल्याउने आन्दोलन, स्वाधीनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए। अब माओवादी जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने उनको भनाइ थियो।
‘अहिले देशमा धेरै व्यथिति छन्। तीनको अन्त्य गर्ने नेतृत्व कसै न कसैले त लिनै पर्छ। यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ,’ उनले भने।
सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रुपमान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उनको भनाइ छ। जनयुद्धको नेतृत्वकर्ताको हैसियतले आफुले माओवादी जनयुद्ध,जनयुद्धका घाइते अपाङ्ग शहिद बेपत्तालाई सम्मान गर्ने नै गरेको बताउँदै प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिर्वतनका विभिन्न आन्दोलनमा शहिद बनेका माओवादी सेना, नेपाली सेना, प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय सहिद घोषणा गरेको उनले बताए।
साथै, जनयुद्धलाई अमर बनाउने फागुन १ गते (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवसको रुपमा मनाउँने निर्णय गरिएको प्रधानमन्त्रीले बताए। शहिद परिवारलाई परिपूरण गर्ने ऐन ल्याएर शहिद, बेपत्ता परिवारलाई नयाँ जीवन दिइने कार्यको गृहकार्यमा रहेको उनको भनाइ थियो।
अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रम मार्फत ४० देखि ५० लाख अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोडेर समाजवादको भ्रुण रोपेको उनको भनाइ छ। यो अभियानले जनतामा समानता र सबै नागरिकको भविष्य सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको यो अभियानमा सरकारलाई साथ दिन सबैलाई आग्रह समेत गरे।


