काठमाडौं– अमेरिकी सहयोग सम्झौता एमसीसीअन्तर्गतको मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए–नेपाल) ले ४०० केभी प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया थालेको छ। नेपाल सरकारसँगको एमसीसी सम्झौताअनुसार परियोजना निर्माण प्रक्रिया अगाडि बढेको हो।
रातमाटे सबस्टेसनदेखि नयाँ हेटौंडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौंडा उप–महानगरमा पर्ने जग्गा, जग्गामा रहेका घरगोठ, टहरा, कटेरा तथा रुख–बिरुवासमेत अधिग्रहण गरिने मकवानपुर जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ। जग्गा, जायजेथा अधिग्रहणमा पर्नेलाई २१ दिनभित्र क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन जिल्ला प्रशासनले आग्रह गरेको छ।
जग्गा अधिग्रहण गर्नु नपर्ने कुनै मनासिव कारण भए सात दिनभित्र निवेदन दिन सकिने सूचनामा जनाइएको छ। बिहीबार मात्रै नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)मा जग्गा अधिग्रहणका लागि सूचना जारी भइसकेको छ।
एमसीसी परियोजनामा नुवाकोट, तनहुँ र परासीमा ४०० केभी क्षमताका तीन नयाँ सब–स्टेसन निर्माण हुनेछन्। काठमाडौंको लप्सेफेदीबाट सुरु हुने प्रसारण लाइन नुवाकोटको रातमाटेबाट मकवानपुरको हेटौंडा जोडिनेछ। रातमाटेबाटै तनहुँको दमौली हुँदै परासी भारतको सीमासम्म पुग्नेछ।
झन्डै ३१५ किलोमिटरको यो प्रसारण लाइनमा एमसिसीको रकमबाट ८५० वटा टावर निर्माण गरिनेछ। एमसिसीको ५ करोड २० लाख डलर रकम खर्चिएर झन्डै ७७ किमि पूर्व–पश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिनेछ।


