विराटनगर- विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशु बेपत्ता पार्ने घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन्। रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा अभियोगमा उनीहरू समातिएका हुन्।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–२ घर भई दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका–९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका–२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका–१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन्।
ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले डा. तपेश्वर लाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ। साथै निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ।
उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ।


