काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। प्रदेशसभाको अध्यक्षता गरिरहेका व्यक्तिको समेत मत पाएर विश्वासको मतका लागि आवश्यक संख्या जुटाएपछि परेको थापा विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो।
यसरी अध्यक्षता गरिरहेको व्यक्तिले मत दिनु असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका प्रमुख हिक्मत कार्कीले दिएको रिटमाथि सुनुवाइ गर्नका लागि सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो।
उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले थापा सरकारका नाममा कारणदेखाउ आदेश जारी गरेको छ भने थापा सरकारलाई कामचलाउको हैसियतमा फर्काइदिएको छ।
आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो। शुक्रबार हेर्न नमिल्ने यो मुद्दाका लागि अर्को पेसी आइतबारका लागि तोकिएको छ।


