पोखरा- नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता/कार्यकर्तालाई पार्टीले कारबाही गर्नुपर्ने बताएका छन्। एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सचिव विष्टले यस्तो बताएका हुन्।
सहकारी डुबाउने, खराब कर्जाका भागीदार बन्ने र गल्ती गर्नेहरु एमालेका नेता कार्यकर्ता हुन नसक्ने बताउँदै त्यस्ता व्यक्तिलाई कारबाही गर्न पार्टीका कमिटीहरुलाई निर्देशन समेत दिएका हुन्। केही केही सहकारी र त्यसका सञ्चालकहरु नै सुदखोर भएको बताउँदै उनले त्यस्ता व्यक्तिले सहकारी आन्दोलनलाई कमजोर बनाएको उल्लेख गरे।
‘कमजोरी जहाँ छ, समस्या जहाँ छ, त्यहाँ समाधान पनि छ। हरेक ठाउँमा देखिएका समस्या समाधानको पहलकद्मी एमालेका नेता कार्यकर्ताले लिनुपर्दछ। गल्ती गर्नेलाई कारवाही गर्नै पर्दछ,’ विष्टले भनेका थिए।
कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सहकारी विभाग प्रमुख खगराज अधिकारीले सहकारीलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा विकास गर्न सवै परिवारलाई सहकारी संस्थामा आवद्ध गर्नुपर्नेमा जोड दिए। सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धि एमालेको विकाससमबन्धी नीतिको सार रहेको उल्लेख गर्दै नेता अधिकारीले कांग्रेस र माओवादी सहकारीविरोधी भएको आरोप लगाए।
पार्टीका प्रदेश उपाध्यक्ष मोहन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटब्यूरो सदस्य मन कुमारी जिसी, सहकारी अभियान्ता मिनराज कँडेल, ओमदेवी मल्ल ठकुरी, परीतोस पौडेल,भेषराज बराल लगायतले सहकारी आन्दोलन, अहिले देखिएका समस्या र समाधानका उपाय, नेपालको अर्थतन्त्रमा सहकारीको योगदान लगायतका विषयमा वोलेका थिए । कार्यक्रमको सञ्चालन एमाले प्रदेश सचिव धनन्जय दवाडीले गरेका थिए ।भेलाको उदेश्य बारे एमाले गण्डकी प्रदेश सहकारी विभाग प्रमुख महेन्द्र लाल श्रेष्ठले प्रकाश पारेको एमाले गण्डकी प्रदेश प्रचार बिभाग उप प्रमुख पुण्य पौडेलले जानकारी दिए।


