काठमाडौँ– २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनको शिलान्यास भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजनाको शिलान्यास गरेका हुन्। मन्त्री बस्नेतले काठमाडौंबाटै मंगलबार आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) शिलान्यास गरेका हुन्।
कोरियाली कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा आयोजना निमार्णको काम अघि बढेको छ। रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युतगृहलगायतका संरचनाहरु निर्माणाधीन छन्।
शिलान्यास कार्यक्रममा बस्नेतले नेपालको जलविद्युत विकासमार्फत आर्थिक रुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गरे। मुख्य रुपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाको रुपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उल्लेख गर्दै उनले जलविद्युत क्षेत्रमा लगानी बढाउन स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे।
समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एमम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाइ अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनिकरणमा ठूलो योगदान गर्न सकिने बताए।
समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, विद्युत नियमन आयोग, लगानी बोर्ड, नेपाल, विद्युत विकास विभागलगायतका उच्चपदस्थ पदाधिकारीहरु, नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदूत श्री पार्क थियोङ, आयोजनामा ऋण प्रवाह गर्ने संस्थाका प्रतिनिधिहरु, निजी क्षेत्रका ऊर्जा उद्यमीहरुलगायतको उपस्थिति थियो।
आयोजना निर्माणको काम २०७८ पुसबाट सुरु गरिएको थियो। भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरुको निर्माण भइरहेको छ। आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ। आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने छ।
आयोजना निर्माणमा हाल करिब १ हजार श्रमिक परिचालित छन्। त्यसमध्ये करिब ५ सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन्। आयोजना निर्माण अवधि (५ वर्ष)मा ७००–१००० जना नेपाली श्रमिकले दैनिक रुपमा रोजगारी पाउने छन्। आयोजना निर्माण सम्पन्न भएपछि पनि ३० वर्षसम्म ८० जनासम्मले रोजगारी पाउने आकलन गरिएको छ।

आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ। आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ। आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ। आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने आकलन छ। उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ। कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ।
काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुनेछ। आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य छ।
