काठमाडौँ– भारतीय उद्यमी अनुपम मित्तलले नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीलाई ब्याट उपहार दिने घोषणा गरेपछि राजवंशी ‘ब्रान्ड एम्बेसडर’ रहेको नेपाली उत्पादन ओहो केकले उनलाई ब्याटको आवश्यकता नरहेको तर नेपाली युवा क्रिकेटरलाई बृहत्तर रुपमा सहयोग जरुरी रहेको प्रष्टोक्ति दिएको छ।
सामाजिक सञ्जाल ट्विटर (एक्स)मार्फत् मित्तलले क्रिकेटर राजवंशीलाई ब्याट दिने रुचि अभिव्यक्त गरेका थिए। तर राजवंशीलाई हालै मात्र ब्रान्ड एम्बेसडर बनाएको ओहो केकका संस्थापक युवा उद्यमी दिव्येश गिरीले सामाजिक सञ्जाल मार्फत् नै मित्तललाई जवाफ लेख्दै भनेका छन्– ‘तपाईंको सहयोगी भावप्रति धन्यवाद छ। मैले आज बिहान मात्र क्रिकेटर ललित राजवंशीसँग कुरा गरेको थिएँ, उनलाई ब्याटको खाँचो छैन। हामीले पनि ओहो केक मार्फत् उनलाई सहयोग गरिरहेका छौं। तर हाम्रा युवा खेलाडीहरुलाई बृहत्तर रुपमा सहयोग गर्न भने जरुरी छ।’
युवा उद्यमी दिव्येशले ओहो केकको तर्फबाट अलिक विस्तृत भनाइ राख्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘ कुनै बेला थियो ललितले अरुको ब्याट लिएर खेल्थे होला तर अहिले उनलाई एउटा ब्याटको समस्या होइन। उनीसँग आफ्नै ब्याट छ। नयाँ ब्याट जरुरी छैन। तर नेपाली खेलाडीहरुलाई उच्च मनोबलपूर्वक खेल्न भने निरन्तर रुपमा सहयोग जरुरी छ। सहयोग केवल ब्याटमा सीमित हुनुहुँदैन।’
दिव्येशले ओहो केकले ललितलाई ब्रान्ड एम्बेसडरका रुपमा पाउँदा गर्व लागेको बताउँदै अरु उद्यमी र सहयोगीहरुसँग आग्रह गरेका छन्, ‘ तपाईँहरु पनि खेलाडीहरुलाई ब्रान्ड एम्बेसडर बनाएर उनीहरुलाई सहयोग गर्न सक्नुहुन्छ।’


