काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिनका लागि न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र बाइडेनबीच शुक्रबार भेट भएको हो।
बाइडेनले आयोजना गरेको रात्रीभोजका बेला उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा दुईपक्षीय सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
महासभाकै क्रममा प्रधानमन्त्रीले साइडलाइनमा विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरुसँग भेटवार्ताका कार्यक्रम गरेका छन्।
राष्ट्रसंघ महासभालाई बिहीबार प्रधानमन्त्रीले सम्बोधन गरेका थिए। प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम भएका उल्लेख गर्दै आफूहरू शान्ति प्रक्रियाका बाँकी कामलाई पनि अन्तिम निष्कर्षमा पुर्याउने प्रक्रियामा रहेको उल्लेख गरेका थिए।
नेपालको शान्ति प्रक्रिया मौलिक भएकाले आफूहरूले टुंग्याएको शान्ति प्रक्रियालाई विश्वसमुदायले पनि स्वीकार गर्नुपर्ने बताएका थिए।
यस्तै उनले शान्ति सेनामा खटिने नेपाली सेनाको प्रशंशा गरेका थिए। शान्ति सेनामा सुरक्षाकर्मी खटाउने दोस्रो ठूलो देश नेपाल भएको उल्लेख गर्दै उनले नेपाली सेनाको व्यावसायिकताको समेत प्रशंशा गरे।
‘शान्तिसेनामा सुरक्षाकर्मी परिचालन गर्ने संख्याका आधारमा अहिले हामी विश्वको दोस्रो ठूलो देश हौँ,’ प्रधानमन्त्री दाहालले भनेका थिए, ‘सबैभन्दा जोखिमपूर्ण मानिएको अवस्थामा कुनै डर नमानी हामीले सुरक्षाकर्मीहरू पठाइरहेका छौँ।’
शान्तिसेनामा सुरक्षाकर्मी खटाएर नेपालले संयुक्त राष्ट्रसंघप्रतिको आस्था र बहुपक्षीयतामा अटल रहेको अर्थ्याएको पनि उनको भनाइ थियो।
महासभामा भाग लिन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत अमेरिका भ्रमणमा छन्। यसअघि नेपालले अतिकम विकसित मुलुकहरूको अध्यक्षतासमेत गरेको थियो।
प्रधानमन्त्री दाहाल असोज ५ गते (आजै)चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।


