धनगढी- साविक उपविजेता धनगढी एफसीले दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि आफ्नो मार्की खेलाडीमा राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरीसँग सम्झौता गरेको छ।
‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीले पहिलो संस्करणका मार्की खेलाडी विशाल राईको महत्वपूर्ण भूमिकामा एनएसएलको उपविजेता बनेको थियो। धनगढी एफसीले विशालको अनुपस्थितिमा आशिषलाई मार्कीको रुपमा अनुबन्ध गरेको हो।
नेपाली राष्ट्रिय टिमका विभिन्न पोजिसनमा खेलिसकेका खेलाडी २३ वर्षीय आशिषले सहिद स्मारक लिग ‘ए’ डिभिजनमा चर्च ब्याईज यूनाईटेडबाट खेल्ने गर्छन। उनले टोली यस पटक सहिद स्मारक लिगको विजेता बन्दा महत्वपूर्ण योगदान गरेका थिए।
सन् २०२२ को सेप्टेम्बर २७ मा बंगलादेशविरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ क्याप जितेका छन्। बंगलोरमा गत जुनमा भएको साफ फुटबल प्रतियोगितामा पाकिस्तानबिरुद्ध नेपालले १-० को जित हात पार्दा आशिषले नै नेपालको तर्फबाट विजयी गोल गरेका थिए।
मार्की खेलाडीमा अनुबन्ध भएपछि आशिषले खुशी व्यक्त गरेका छन्।
‘पहिलो सिजन सबैको मिहिनेतले उपविजेता बनेका थियो। यस सिजनमा थप राम्रो नतिजा ल्याउने प्रयासमा छौं। अक्सनबाट टोलीका लागि आवश्यक पर्ने खेलाडीहरुलाई लिने र थप खेलाडीलाई विदेशबाट भित्र्याउने आन्तरिक तयारी पनि गरिरहेका छौं।आफ्नोतर्फबाट सक्दो मिहिनेत गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु। अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’ आशिषले भने।
यस्तै धनगढी एफसीका अध्यक्ष सुवास शाहीले यस सिजनमा पनि आशिष चौधरीलाई सम्झौता गर्दा एकदमै उत्साहित भएको प्रतिक्रिया दिए।
‘नेपाली फुटबलका प्रतिभावान खेलाडीमध्येका एक आशिषको आगमनसँगै टोलीको उर्जा झनै बढेको महसुस भएको छ। धनगढी एफसीलाई गत सिजनमा तपाईहरु सम्पूर्णले देखाएको माया र सद्भावप्रति आभार व्यक्त गर्दैछौं। यस सिजनमा पनि यहाँहरुको अपार मायाँको अपेक्षा राखेका छौं,’ शाहीले भने।


