काठमाडौँ- साथमा कलिला दुई छोरा। श्रीमान् बेरोजगार। जग्गा-जमिन केही थिएन। त्यसमाथि श्रीमान् मदिराले सधैं लठ्ठ भइरहने।
श्रीमानको आडभरोसा शून्य भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-३ की ३० वर्षीया विनिता विकलाई आफू र दुई छोराको ज्यान पाल्नै मुस्किल भयो।
पढलेख नभएकाले विकले गाउँ-घरमा गतिलो काम पाउने कुरा भएन। डेढ वर्षअघिको कुरा हो, उनी वैदेशिक रोजगारीमा जान एजेन्ट खोज्दै हिँडिन्।
त्यसक्रममा उनले बाँकेकै दलाल सुशीला वली भेटिन्। विनितालाई वलीले कुवेत पठाइदिने आश्वासन दिइन्।
गरिबीको पहाडले थिचिएकी, त्यसमाथि पढाइ-लेखाइ नभएकी विनिता वलीले जसो भनिन्, त्यसै मानिन्। वलीले काठमाडौँ बोलाइन्।
वलीले काठमाडौँबाट विनितालाई कानुनी रूपमा कुवेत पठाइनन्। दिल्लीको गैरकानुनी बाटो हुँदै कुवेत पुर्याइन्।
विनिता कुवेतको एउटा घरमा घरेलु कामदार भएर काम गर्न थालिन्।
एक वर्ष उनी परिवारको सम्पर्कमा थिइन्। अलिअलि पैसा (महिनाको १०-१५ हजार)कमाउँदै पठाउँदै गर्थिन्। दुई छोराको भविष्य अघि बढाउने र सके जग्गा-जमिन जोरजाम गर्ने प्रयत्न उनको थियो। आफूले पाएको दु:ख लुकाउँदै उनी साहुले जसो चाह्यो, त्यसै गर्दै गइन्।
जब उक्त घरमा मानसिक र शारीरिक पीडा भोग्न थालिन्, त्यसपछि परिवारसँग बिन्ती बिसाउन थालिन्।
‘गत पुस-माघदेखि निरन्तर इमोमा फोन गर्दै यहाँबाट फर्काइदिनू भन्न थालिन्,’ उनका दाजु महेन्द्रबहादुर विक भन्छन्, ‘दिनहुँ मानसिक र शारीरिक पीडा भोगिरहेको भन्न थालिन्।’
छोराहरूको भविष्यका खातिर उनले सुरू-सुरूमा दु:ख पाइरहे पनि सुनाइनन्।
समय बित्दै जाँदा विनितामाथि साहुको अत्याचार बढ्न थाल्यो।
कहिले कुटपिट भएर अनुहार सुन्निएको फोटो, कहिले बोतल प्रहार भएर रगताम्य भएको भिडिओ पठाउन थालिन्। रुँदै-कराउँदै बिलौना गरी अडिओ पठाइरहन्छिन्।
महेन्द्रका अनुसार यो क्रम ८-९ महिनादेखि जारी छ। विनिता कुवेतको कुन ठाउँ, कुन घरमा कामदार छिन् स्पष्ट खुल्न सकेको छैन।
दिनहुँ यातनाको खबर सुनाउँदा परिवारको मन-मथिंगल ठाउँमा रहन छोड्यो। अझ खाना नदिएको, दिए पनि अरूले खाएर थालमा बाँकी रहेको जुठो दिने गरेको भनेर विनिताले खबर पठाउन थालिन्। त्यसपछि परिवारमा पीडाको आगो दनदनी बल्न थाल्यो।
कहाँ गएर पीडा सुनाउने? न दलाल वली भेटिन्छिन्, न उनीसम्म पुग्ने कुनै च्यानल परिवारले फेला पारेको छ।

एजेन्ट वली।
पीडाको भुंग्रोमा जल्न थालेका विक परिवारलाई गाउँमा कसैले भन्दिए- काठमाडौँ जानू। त्यहाँ गएर सोधीखोजी गर्नू।
यतिसम्म कसैले भन्दिएकै भरमा महेन्द्रबहादुर आफ्नी आमा र माइजूलाई लिएर बाँकेबाट बस चढे। सय कडा पाँच रुपैयाँका दरले १० हजार रुपैयाँ ऋण खोजेर उनीहरू काठमाडौँका लागि हिँडै।
शनिबार (असोज १३ गते) काठमाडौँ नयाँ बसपार्क आइपुगे। शनिबार र आइतबार त्यहीँको एउटा होटलमा बास बसे। बसपार्कतिर भेटिएका मानिससँग सोध्न थाले। केहीले भन्दिएछन्- मानव बेचबिखन ब्युरोले काम गरिदिन्छ।
सोमबारसम्ममा बल्ल उनीहरू मानव बेचबिखन ब्युरो बबरमहलसम्म आइपुग्न सके। यहाँ आएपछि ब्युरोका प्रहरीसँग आफ्नी चेलीको दु:ख बिसाउँदै कुवेतबाट उद्धारको याचना गरिरहेका छन्।
ब्युरोका प्रहरीले विक परिवारसँग भेट गराइदिँदा नेपाल क्लिक्सकर्मीसँग उनीहरूले एकै स्वरमा भने- लौ न सर! हाम्री छोरी-चेली फिर्ता ल्याइदिन परो।
बोली भुइँमा खसेलगत्तै विनिताकी आमाका आँखा आँशुले टिलपिलाए।
ब्युरोका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार विक परिवार आएपछि विनितालाई कुवेतबाट फर्काउन सम्बन्धित निकायमा लेखापढी गर्ने काम सुरू भएको छ।
पहिलो, विनितालाई फर्काउन परराष्ट्र मन्त्रालयबाट कुवेतको दूतावासमा चिठी पुर्याउनु पर्ने हुन्छ। प्रहरी प्रधान कार्यालय हुँदै कुवेतको प्रहरीलाई लेखापढी गर्नुपर्ने हुन्छ।
‘महिला तथा बालबालिका मन्त्रालयमा एउटा संयन्त्र छ, त्यहाँबाट पनि लेखापढी गर्न सकिन्छ,’ पंगेनी भन्छन्, ‘हामी जहाँबाट छिटो उद्धार गर्न सकिन्छ, त्यही प्रक्रियामा जान्छौँ।’
विनिता गैरकानुनी बाटोबाट कुवेत गएकी एक्ली होइनन्, यसरी कुवेत जाने महिलाहरू धेरै छन्। त्यहाँ पुगेर दु:ख पाएपछि उद्धारको याचना गर्ने महिलाहरू थुप्रै छन्।

विनिता विक।
गैरकानुनी बाटोबाट कुवेत, ओमानजस्ता खाडी मुलुकमा जाने महिला कति छन् यसको तथ्यांक ब्युरोसँग छैन। तर, हिजोआज कानुनसम्मत तरिकाले नभई जोखिम मोल्दै त्यस्ता मुलुक जानेहरूको संख्या बढ्दो छ। यसमा अध्यागमन विभाग तथा मुख्य गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन डेस्क ‘दलाल’ बनेको छ।
कुवेत-ओमानलगायत खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान सरकारले बन्देज लगाएको छ। तर, भिजिट भिसा र घरेलु कामदारबाहेक अन्य कामका लागि श्रम स्वीकृति लिएरै जानेहरूको संख्या ठूलो छ।
पहिले घरेलु कामदारबाहेकका काममा जाने महिलाहरूको कुरा गरौँ। त्यस्ता महिलाहरू सुरूमा म्यानपावर कम्पनी र तिनले परिचालन गरेका दलालको नजिक पुग्ने गरेका छन्। म्यानपावर कम्पनी र दलालहरूले नक्कली कागजात बनाएर भिजिट भिसामा विशेषगरी महिलाहरूलाई पठाउने गरेका छन्। त्यो संस्थागत रूपमै पनि हुने गरेको छ। संस्थागत रूपमा सम्बन्धित मुलुकसँग श्रम सम्झौता नै गरेर जानेहरू। तिनीहरू केही मात्रामा जोखिममुक्त देखिएका छन्।
दोस्रो, भिजिट भिसा। भिजिट भिसाका लागि अध्यागमन विभागले जारी गरेको १७ बुँदे मापदण्ड पूरा गरेको हुनुपर्छ। त्यसमा सम्बन्धित देशमा छन् भनी प्रमाणित भएको कागजात आवश्यक पर्छ। कम्तीमा दुई सय डलर रकम भएको बैंक स्टेटमेन्ट देखाउनुपर्छ। त्यहाँ पुगेर कुन ठाउँमा बस्ने (होटल वा आफन्त) विवरण पूरा देखाउनुपर्ने हुन्छ।
यी कागजात पूरा भएको छ/छैन भनी जाँचबुझ गर्ने काम अध्यागमन कार्यालयको हो। यो प्रक्रिया धेरैजसोले पूरा गरेकै हुन्नन्, तैपनि अध्यागमनले उनीहरूलाई जाँचपास गरिरहेको छ।
यस्तोमा ट्राभल एजेन्सीदेखि लिएर अन्य एजेन्टहरू सक्रिय छन्। सुरूमा उनीहरू भिजिट भिसाको प्रक्रिया पूरा गरिदिन्छन्। सम्बन्धित देश पुगेपछि उनीहरूले त्यहाँ कुनै न कुनै कामदार सप्लायर्स गर्ने कम्पनीसम्म पुर्याइदिन्छन्। भिजिट भिसामा पुगेकाहरूलाई व्यवस्थापन गर्नका लागि खाडी मुलुकमा सप्लायर्सहरू सक्रिय छन्। उनीहरूले नेपालमा एजेन्टहरू विस्तार गरेका छन्।
‘यहाँबाट भिजिट भिसामा गएकाहरू सप्लायर्स कम्पनीमा पुग्ने र त्यस्ता कम्पनीले अन्यत्र काम लगाइदिने गरेका छन्, त्यसैले भिजिट भिसामा जानेहरूमाथि हामीले निगरानी बढाएका हौं,’ ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवन श्रेष्ठ भन्छन्, ‘हाम्रो मूल उद्देश्य खाडी मुलुकमा गएर महिलाहरू शोषित-पीडित नहुन् भन्ने हो।’
यी कागजात पूरा भएको छ/छैन भनी जाँचबुझ गर्ने काम अध्यागमन कार्यालयको हो। यो प्रक्रिया धेरैजसोले पूरा गरेकै हुन्नन्, तैपनि अध्यागमनले उनीहरूलाई जाँचपास गरिरहेको छ।
भिजिट भिसामा खाडी मुलुक पुग्नेहरूले धेरै कागजात पूरा गरेका हुन्नन्। तथापि, धेरैजसो उडिरहेका हुन्छन्। सकभर भिसा सकिएपछि नेपाल फर्किने गरेका कमै छन्। एजेन्टहरूको मिलेमतोमा उनीहरू त्यतै काममा लाग्ने गरेका छन्। कागजात नपुगेकाहरूलाई ब्युरोले एयरपोर्टबाट फर्काउने गरेको छ।
‘अन्तिममा दु:ख पाएपछि उनीहरूका परिवार उद्धारको याचना गर्दै प्रहरीमा आइपुगेका हुन्छन्, त्यसकारण भिजिट भिसामा जानेहरूमाथि हामीले निगरानी गर्ने, जोखिमपूर्ण तरिकाले नजान अनुरोध गरी एयरपोर्टबाट फर्काउने र कार्यालयमा ल्याएर परामर्श दिई घर फर्किन प्रेरित गर्ने गरेका छौँ,’ श्रेष्ठ भन्छन्।
श्रेष्ठका अनुसार त्यसरी फर्काउँदा उड्न ठिक्क परेकाहरू झर्किन्छन्। ‘म घुमफिर गर्न जान नपाउने? मेरो टिकटको रकम तपाईं दिनुहुन्छ? खर्च भएको रकम फिर्ता गरिदिनुहुन्छ? मलाई नेपालमा जागिर दिनुहुन्छ? भनी हामीलाई प्रश्न गर्छन्,’ श्रेष्ठले सुनाए, ‘हामी त्यसको ग्यारेन्टी गर्ने निकाय परेनौँ, सकेको कानुनी सहयोग गर्ने हो।’
कतिपय परामर्शपछि घर फर्किन तयार हुन्छन्। कतिपय कागजात पूरा गरेर फेरि उड्नका लागि विमानस्थल पुगिसकेका हुन्छन्।
‘श्रम स्वीकृति भएकाहरूलाई त हामीले फर्जी कागजात देखे मात्रै फर्काउने हो, नत्र हामीले केही गर्नै सक्दैनौँ,’ पंगेनी भन्छन्, ‘भिजिट भिसामा जानेहरू वा भनौं दुबै पक्रियाबाट जानेहरूलाई रोक्ने काम, कर्तव्य र अधिकार हाम्रो होइन, तर जोखिमपूर्ण तरिकाले जान लागेकाहरूलाई बाध्यतावश: हामीले फर्काउनै पर्छ, यो हाम्रो नियमित ड्युटीजस्तै हो।’
कस्ता-कस्ताहरू फर्काइन्छन्?
पंगेनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन ब्युरोको एउटा सानो युनिट छ। त्यसमा जम्मा दुई जना प्रहरी मात्रै छन्।
खाडी मुलुक जानेहरू जोखिमपूर्ण अवस्थामा रहेको परिस्थितिलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले त्यहाँ युनिट राख्न एक वर्षअघि निर्देशन दिएको थियो। जतिबेला भिजिट भिसामा जानेहरूलाई कडाइ गर्न गृह मन्त्रालयले आदेश दिएको थियो।
‘हाम्रो न त्यहाँ डेस्क छ, न रोक्ने पर्याप्त संयन्त्र नै,’ ब्युरोका अर्का एक अधिकृत भन्छन्, ‘एयरपोर्टमा स्क्रिनिङ गर्ने अधिकारसम्पन्न धेरै निकाय छन्, हामीसँग केवल दुई प्रहरी छन्।’
ती अधिकृतका अनुसार जोखिमयुक्त र नक्कली कागजात बनाएर भिजिट भिसामा मानिसहरू उड्न लागेको सूचना दिनहुँ आउँछ। त्यही सूचना पछ्याउँदै दुई जना प्रहरी बोर्डिङ पास लिइसकेकाहरूलाई सोधीखोजी गर्न जान्छन्।
‘एयरपोर्टमा प्रहरीको संयन्त्र छ, कहिलेकाहीँ हामी त्यो संयन्त्रको साथ लिएर काम गरिरहेका छौं,’ ती अधिकृत भन्छन्।
भिजिट भिसाका लागि अध्यागमनको १७ बुँदेमा आइए पास गरेको सर्टिफिकेट अनिवार्य छ। प्रहरीले सोधीखोजी गर्दा आइए पास गरेका धेरै भेटिँदैनन्। उनीहरूलाई गन्तव्य मुलुकको भाषाबारे नै जानकारी हुन्छ, न त्यहाँ पुगेपछि कहाँ बस्नेबारे भन्न नै सक्छन्।
‘कहाँ पढेको, कुन कलेज पढेको, कहाँ डकुमेन्ट बनाएको भन्दा जब अकमकिन्छन्, सेटिङमा गएका हुन् कि भन्ने आशंका बढेपछि हामी फर्काउँछौं,’ ती अधिकृतले भने, ‘अहिलेको परिस्थिति हेर्दा हामीले सूचनाका आधारमा जति फर्काएका छौं, बढीभन्दा बढी मानिसहरू गइरहेका छन्।’
कति फर्काइए?
मानव बेचबिखन ब्युरोको एक तथ्यांकले कुवेत-ओमानलगायत खाडी मुलुकमा भिजिट भिसामा जानेहरूको संख्या ह्वात्तै बढेको देखाउँछ।
असोज महिनामा मात्रै २५१ महिला विमानस्थलबाट फर्काइएका छन्। फर्काइएकामध्ये पुरुषको संख्या ७६ छ।
फर्काइएका धेरैजसो महिला ओमान र कुवेत उड्न लागेका थिए। भदौ महिनामा ब्युरोले ४६६ महिला र १५३ पुरुष विमानस्थलबाट फर्काएको थियो। यो वर्ष ६ हजार ५३८ जनालाई फर्काइएको तथ्यांक ब्युरोसँग छ।
भिजिट वा श्रम स्वीकृतिमा जे जति ‘सेटिङ’ मिलाएर जाने महिला-पुरुष छन्, उनीहरूको एक मात्र उद्देश्य वैदेशिक रोजगारी हो।
कानुनी-गैरकानुनी जसरी भए पनि उनीहरू जोखिमपूर्ण तरिकाले खाडी मुलुक जान लालायित छन्। त्यसको कारण देशमा रोजगारी नहुनु देखिएको छ।
असोज महिनामा मात्रै २५१ महिला विमानस्थलबाट फर्काइएका छन्। फर्काइएकामध्ये पुरुषको संख्या ७६ छ।
जोखिमपूर्ण तरिकाले जान तयार भएकाहरूलाई रोक्न नसक्नुमा सरकारी नीति मुख्य रहेको ब्युरोका ती अधिकृत बताउँछन्। अझ रोक्ने निकायको फितलो अनुगमनले धेरैलाई खाडीमा धकेलिरहेको उनी बताउँछन्।
पछिल्लो दुई महिनायता अन्तर्राष्ट्रिय विमानस्थलमा सक्रिय अध्यागमन कर्मचारीको मिलेमतोमा भिजिट भिसामा ‘सेटिङ’ भइरहेको अधिकारीहरूले बताएका छन्।
भिजिट भिसाको जाँचपास गर्दा त्यहाँका कर्मचारीले प्रतिव्यक्ति २५ देखि ६० हजार रुपैयाँसम्म घुस लिइरहेको अध्यागमन स्रोतले बतायो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले गुनासो आएपछि कडाइसाथ अनुगमन थाल्न निर्देशन दिएको बताए।
‘मैले कडाइसाथ हेर्न लगाएको छु। भिजिट भिसामा जो नयाँ गइरहेका छन्, तिनीहरूको सबै कागजात कडाइसाथ हेर्न भनेको छु,’ हमालले नेपाल क्लिक्ससँग भने, ‘पुष्ट्याइँ हुने कागजात देखाए पनि पुन: प्रमाणित गरेर मात्र जाँचपास दिनू भनेको छु।’
आर्थिक लाभ लिएर जाँचपास भएको देखिए कर्मचारीमाथि कडा कारबाही गरिने उनले बताए। यसबारे आफूले छानबिन गरिरहेको हमाल बताउँछन्।

