काठमाडौैं- प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई छिटै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोजना अगाडि बढाउन माग गर्दै भेट्न आएका गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको टोलीसँग सरकारी निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी बजेटमा समावेश गरेर गति दिइने बताएका हुन्।
मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री नियुक्त भइसकेकाले सरोकारवालासँग छलफल गरी आयोजना अगाडि बढाइने उनको भनाइ छ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणापत्रमा समेत आयोजना निर्माणबार लेखिएको, सत्ता गठबन्धनमा आबद्ध दलको समेत स्पष्ट दृष्टिकोण रहेकाले कुनै द्विविधा नराख्न विश्वास दिलाएको गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।
सरकारले आयोजना निर्माणका लागि कम्पनी स्थापना गरिसके पनि काम प्रभावकारी हुन सकेको छैन। १ एक हजार २ सय मेगावाट क्षमताको सो आयोजनाको काम लामो समयदेखि अगाडि बढ्न सकेको छैन।
‘प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी खुसी भएका छौँ, स्थानीयबासीको आशंकासमेत हटेको छ’, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘आयोजनाको बजेट रकमान्तर भएका विषयमा स्थानीयले गुनासो गरेका थिए।’
प्रधानमन्त्रीले प्रचण्डले आयोजना अगाडि बढाउन स्थापना गरिएको कम्पनीलाई गति दिन र त्यसबारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई आवश्यक निर्देशन दिइने बताए।
सन् २०१४ मा फ्रान्सेली कम्पनी ट्याक्टबेलले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। जसमा सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने गरी कम्पनी स्थापना गरेको थियो। कम्पनी स्थापनाको निर्णय गर्ने तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएकी थिइन्।


