काठमाडौँ- काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्कस्थित ‘द बर्गर हाउस’ मा एक युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका बौद्ध बस्ने अन्दाजी ३६ वर्षीय आशालाल लामा र काभ्रे रोशी गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौँ सामाखुशी बस्ने अन्दाजी ३३ वर्षीय भोज लामा छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार काभ्रेको तेमाल –७ स्थायी घर भई हाल भक्तपुर राधेराधे बस्ने अन्दाजी २५ वर्षीय देवसिंह लामालाई उनीहरुले बन्धक बनाएका थिए।
प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको खटिएको सात जनाको टोलीले नँयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’बाट देवसिंह लामालाई अपहरणमुक्त गरेको ढुङ्गेलले बताए।
आरोपितहरुविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
