नेपालगञ्ज– जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा लगाएको कर्फ्यू बिहीबार बिहान ८ बजेदेखि १२ घण्टाका लागि हटाएको छ।
मङ्गलबार दिउँसो १ बजेबाट लगाइएको कर्फ्यू बिहीबार राति ८ बजेबाट पुन: लागू हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो।
बिहीबार बिहान ८ बजेदेखि राती ८ बजेसम्मका कर्फ्यू हटाइएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगञ्जको अवस्था क्रमशः सामान्य बन्दै गएकोले सर्वसाधारणको सहजताका लागि १२ घण्टाका लागि कर्फ्यू हटाइएको जानकारी दिए।
बिहीबार राति ८ बजेदेखि शुक्रवार बिहान ८ बजेसम्म पुनः कर्फ्यु जारी रहने उनको भनाइ छ।
प्रशासनले कर्फ्यु हटाइएको अवधिमा शान्ति सुरक्षालाई ध्यानमा राखेर सभा, बैठक, जुलुस गर्न नपाउनुका साथै कुनै पनि प्रकारको पर्चा टेम्पलेट तथा पोस्टर समेत वितरण गर्न नपाइने र पाँच जना भन्दा बढी मानिस एक ठाउँमा जम्मा हुन नपाउने निर्णय गरेको छ।
प्रशासनले सर्वसाधारणलाई सद्भाव र शान्ति कायम गर्न सबैले आ आफ्नो ठाउँबाट उल्लेख्य भूमिका निर्वाह गरिदिन आग्रह गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण र एक अर्कालाई सम्मान गरिदिन पनि अनुरोध गरेको छ।
यसअघि शान्ति सुरक्षामा खलल पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि नेपालगन्जमा कर्फ्यु लगाएको थियो।



