काठमाडौं- राजश्व छली मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका-४ घर भई हाल बाँने उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय कुतबुद्धिन शेष रहेका छन्।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार कपिलवस्तुबाट पक्राउ गरेको ब्युरो प्रवक्ता नवराज अधिकारीले बताए।
शेषविरूद्ध उच्च अदालत तुलसीपुरले ६ महिना कैद र पाँच करोड ९८ लाख ६६ हजार ३५५ रुपैयाँ बिगो तथा जरिवाना हुने फैसला गरेको थियो।
२०७८ पुस १४ गते अदालतले फैसला सुनाएयता शेष फरार थिए।
शेषले इको प्लस गुट्खा र नेपाल पान मसला उद्योगका सञ्चालक शेषले खरिद, बिक्री खाता, उत्पादन खाता, अन्तशुल्कको स्टिकर विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपत, कच्चापदार्थलगायत सामग्रीको हिसाब-किताब गोलमाल गरी राजश्व छलेको अनुसन्धानबाट खुलेको थियो।
उनलाई अदालतले राजश्व चुहावट गरेकोमा ३ करोड ९९ लाख १० हजार ९०३ र जरिवाना १ करोड ९९ लाख ५५ हजार ४५२ तिराउने फैसला गरेको थियो।
शेषलाई बिहीबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।


