काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुर विमानस्थलको धावनमार्गमा नै खादामाला लगाइएको छ। एमाले कार्यकर्ताहरूले धावनमार्गमा नै पुगेर ओलीलाई खादामाला लगाइदिएका हुन्।
विमानस्थलको सुरक्षा घेरा तोड्दै एमालेका कार्यकर्ता ओलीलाई माला पहिर्याउन धावनमार्गमा नै पुगेको विमानस्थल प्रमुख भीमदत्त पन्तले बताए।
एमाले मधेश प्रदेश अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली यति एयरलाइन्सको जहाजबाट बुधबार जनकपुर विमानस्थल पुगेका हुन्।
ओलीलाई स्वागतका लागि एमाले कार्यकर्ताहरू जहाजकै ढोकामा पुगेका थिए। ‘पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली आउने बेला एमाले कार्यकर्ताले विमानस्थलको सुरक्षा घेरा तोडे। ठूलो समूहमा भएकाले हामीले नियन्त्रण गर्न सकेनौँ,’ उनले भने।
यसरी विमानस्थलको धावनमार्गसम्म जानु हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
यस विषयमा प्राधिकरणको ध्यानाकर्षण भइसकेको र जनकपुर विमानस्थललाई पत्रसमेत पठाइसकेको उनले जानकारी दिए।
‘विमानस्थलको धावनमार्गसम्म जान पाइँदैन। यो हवाई सुरक्षाको गम्भीर उल्लंघन हो। हामीले जनकपुर विमानस्थल कार्यालयलाई पत्र पठाएका छौँ,’ प्रवक्ता निरौलाले भने, ‘उताबाट पत्र आएको छैन। यो विषयलाई प्राधिकरणले गम्भीर रूपमा लिएको छ।’
एमालेले भने कार्यकर्ताहरू धावनमार्गसम्म गएको दाबी गरेको छ।
२०७९ चैत २७ गते पनि ओलीको स्वागत धावनमार्गमा नै गरिएको थियो। नेपालगञ्ज पुगेका ओलीको स्वागतका लागि एमाले कार्यकर्ता धावनमार्गमा नै पुगेका थिए।
विमानस्थलभित्र सर्वसाधारण र यात्रुलाई समेत विना बोर्डिङ पास जान दिइँदैन। तर, आज ओलीको स्वागतमा कसरी पटकपटक एमाले कार्यकर्ता पुग्छन् प्रश्नको विषय बनेको छ।
बुद्ध एयरको जहाजमा गएका ओलीलाई विमानस्थलको धावनमार्गमा नै स्वागत गरिएपछि हवाई सुरक्षामा गम्भीर नभएको भन्दै आलोचना भएको थियो।



