काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेले आगामी प्रतियोगिता नखेल्ने घोषणा गरेका छन्।
बिहीबार राती फेसबुकमा स्टाटस लेख्दै लामिछानेले यस्तो घोषणा गरेका हुन्। आफू निकै खराब समयमा गुज्रिरहेकाले आगामी प्रतियोगिता नखेल्ने उनको घोषणा छ।
सन्दीपमाथि नाबालिग बलात्कारको आरोपमा मुद्दा लागेको छ। सन्दीपको मुद्दाको पेसी पटकपटक स्थगित हुँदै आएको छ।
‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु। म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु र मैले आफूलाई पुनर्जीवित गर्न आवश्यक छ। यो बेला परिवारलाई समय चाहिन्छ भन्ने महसुस गर्छु,’ अंग्रेजीमा उनले स्टाटस लेखेका छन्, ‘मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। अर्का भेट नभए सम्म सबैलाई धन्यवाद।’
कात्तिक १ देखि १० गतेसम्म नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक खेल आयोजना हुँदैछ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार पनि पेसी तोकिएको थियो। तर स्थगित भएको थियो।
जिल्ला अदालत काठमाडौंमा न्यायाधीश अपर्याप्त भएकाले मुद्दा स्थगन भएको उल्लेख गरिएको छ।
