विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्।
बुधबार भएको प्रदेश सभा बैठकका क्रममा भएको मत विभाजनमा उनले विश्वासको मत प्राप्त गरेका हुन्।
९३ जना प्रदेश सांसदमध्ये कार्कीको पक्षमा ८६ मत परेको थियो।
उनको विपक्षमा ५ मत मात्र परेको प्रदेश सभामा उपसभामुख सिर्जना दनुवारले घोषणा गरिन्।
बैठकमा ९१ जना सांसद उपस्थित थिए।
कोशी प्रदेशसभामा एमाले, कांग्रेस, माओवादी, नेकपा एस र जसपाका सांसदले कार्कीलाई विश्वासको मत पाएका थिए।
उनको विपक्षमा राप्रपाले मात्र मतदान गरेको थियो।
एमालेका ३९, कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ४ र जसपाका एक जना सांसद छन्। राप्रपाका जम्मा ६ जना सांसद छन्।
कार्की कांग्रेसको आधिकारिक निर्णयमा विद्रोह गरी ८ जना सांसद लिएर एमालेका ३९ जनासमेतको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कांग्रेसले भने माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको थियो।
कार्की र आङ्बो दुवै पक्षले ४७-४७ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले सांसदहरूलाई सनाखतका लागि बोलाएका थिए। तर आङ्बोलाई समर्थन गर्नेहरू भने सनाखतमा नै सहभागी भएका थिएनन्।
कार्कीले यसअघि नै एमालेका एक जना र कांग्रेसका एक जनालाई मन्त्रीको जिम्मेवारी दिएका छन्।
एमाले र कांग्रेसबाहेकका दललाई सरकारमा सहभागी भए आफूहरु बाहिरिने चेतावनी एमालेले दिइसकेको छ।


