पोखरा- पोखरा महानगरपालिकाले बिहीबार ८ वटा मासु पसलमा अनुगमन गरेको छ। नेपालीहरुको ठूलो चाड दसैँसँगै महानगरले मासु पसलमा अनुगमन गरेको हो।
अनुगमन टोलीले चार वटा पसललाई ५ देखि २० हजार रुपैयाँसम्म जरिमाना गरेको छ। टोलीले ६५ हजार रुपैयाँ जरिमाना र १२ हजार ८ सय ५३ रुपैयाँको मासुजन्य र खाद्य सामग्री नष्ट गरेको महानगरले जानकारी दिएको छ।
अनुगमनका क्रममा पोखरा–७ मा रहेको सेभेन स्टार फुड एण्ड मार्ट, पोखरा–६ मा सञ्चालन रहेको पोखरा मिटमार्ट, पोखरा–१७ मा रहेको फ्रेस फ्रेस हाउसलाई २०/२० हजार रुपैयाँ जरिवाना गरिएको छ। पोखरा–१७ कै इम्ररान फ्रेस हाउसलाई नगद ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमन टोलीले अनुगमनकै क्रममा जारीवाना गरेको जिल्ला प्रशासन कार्यालयमा शुक्रबारै उपस्थित हुन लिखित निर्देशन समेत दिएको छ।
पोखरा–१७ मा रहेको फ्रेस फ्रेस हाउसबाट राजमा साँढे चार केजी, कुुखुराको मासु १० किलो, प्राउन १ किलो, ससेज चार प्याकेट, च्याउलगायतका ६ हजार रुपैयाँ बराबरको मासुजन्य र खाद्य सामाग्री नष्ट गरिएको छ।
पोखरा–६ स्थित पोखरा मिट मार्टमा लेबल नखुलेको बटटराई चरा तथा बंगुरको मासु प्याकिङ गरेको र अन्य सामाग्रीसँगै फ्रिजमा राखेको भेटिएको छ।
नापतौलमा किलाकाटा दर्ता नगरेको, पोखरा महानगरमा पनि दर्ता नभएको, आन्तरिक राजस्व कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता नगरेको, बहाल कर समेत नतिरेको फेला परेकाले उसलाई २० हजार रुपैयाँ जरिवना गरिएको छ। उक्त पसलबाट बटटाई चराको सात प्याकेट म्याद उल्लेख नगरेको मासु र बंगुरको मासु एक केजी नष्ट गरिएको छ।
पोखरा–८ स्थित सेभेन स्टार फुड् एण्ड मार्टमा अनुगमनका क्रममा म्याद गुुज्रेका, लेवल नखुलेका, अखाद्य बस्तु मिसाइएका, महानगरमा दर्ता, नवीकरण नगरेको, नापतौलमा किलाकाटा दर्ता नगरेको फेला परेपछि २० हजार रुपैयाँ जरिमाना गरिएको छ। उक्त पसलबाट फुुजल मटन एक प्याकेट, इनसेट स्प्रे तीन वटा गरी दुुई हजार तीन सय ५७ रुपैयाँ बराबरको सामाग्री नष्ट गरिएको छ।
पोखरा–१७ मा रहेको इम्रान फ्रेस हाउसमा पसल फोहोर, खसी, कुुखुरा, बंगुरलगायत सबै मासु एउटै फ्रिजमा राखेर बिक्री वितरण गरेको पाइएकाले ५ हजार रुपैयाँ जरिमाना गरिएको छ।
पोखरा–८ को एवान गण्डकी फ्रेस हाउस, शुभ दाङ भ्याली फ्रेस हाउस, न्यु राई फ्रेस हाउस र सिम्रिक मिट सपमा महानगरमा २०७४ देखि नवीकरण नगरेको, नापतौलको दर्ता नगरेको, बहाल कर नतिरेको देखिएको, सरसफाइमा ध्यान दिनुपर्ने भन्दै सचेत गराइएको छ।
अनुगमन टोलीमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराका संयोजक नारायण ढकाल, पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकुन्दप्रसाद पौडेल, गुणस्तर तथा नापतौलका प्रतिनिधि विपिन पुरी, महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, पशु चिकित्सक सगुन बराल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा रहेका थिए।
अनुुगमनका क्रममा लेबल नलगाई प्याकेजिङ गरेको मासु, म्याद गुुज्रेको मासु फेला परेको तथा नापतौल दर्ता, नविरकण नगरेका, मासु काटने ठाँउ फोहोर देखिएको, पसल दर्ता नगरेको भेटिएको र केहीलाई कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।
हालसम्म ४५ वटा विभिन्न पसलमा अनुगमन गरिएको र २० वटालाई जरिवाना गरिएको र केहीलाई सचेत गराइएको ढकालले बताए।
बजार अनुुगमन नियमित प्रक्रिया भएको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए।
पोखरा महानगरपालिका सहकारी शाखाका प्रमुख भरतराज पौडेलले लेवल नलगाइएका वस्तु, उपभोग्य मिति नभएको र म्याद नाघेका सामाग्रीहरु फेला परेको ती मध्य केहीलाई कारबाही र सचेत गराइएको बताए।
‘चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मुल्यबृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, मंहगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो। व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी बढ्छ, त्यसैले महानगरभित्र अनुगमन गरेका हौ,’ महानगर बजार पौडेलले भने।


