काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालमा रहँदा सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।
सुरक्षामा खटिएका बेला उच्च पहाडी क्षेत्रमा जाँदा लेक लागेर बिरामी परेका असई टीकाराम ढुंगानाको मृत्यु भएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए।
गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्पमा खटिएका ढुंगाना खटिएका थिए। उनी १२ कार्तिकमा बेसक्याम्पमा गएका हुन्।
घान्द्रुक प्रहरी चौकीका इन्चार्ज समेत रहेका ढुंगानाले आर्मी र प्रहरीको टोली लिएर एबीसी गएका थिए। गुटेरेसको भ्रमण सकिएपछि असई ढुंगाना सहितको सुरक्षा टोली मंगलबार पैदल हिँडेर पोखरा फर्किंदै थिए।
ढुंगाना अन्नपुर्ण गाउँपालिका–११ स्थित हिमालयन होटलमा बसेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि एयर डाइनेस्टिको हेलिकोप्टरमार्फत उनलाई पोखरा ल्याएको एसपी थापाले बताए।
मृतक ढुंगाना पर्वतको मोदी गाउँपालिका–६ का बासिन्दा हुन्।


