काठमाडौँ- आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ। उपाधिका लागि भएको खेलमा नेपाल सुपरओभरमा पराजित भएको हो। सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सकेको थियो।
सुपर ओभरमा नेपालका लागि अभिनास बोहराले बलिङ गरेका थिए। उनले पहिलो बलमा एक रन दिए। दोस्रो बलमा ओमानका नीशम खुसीले छक्का हिर्काए। तेस्रो बल डट भयो। चौथो बल पनि छक्का भयो। त्यसपछिको बल वाइड भयो। पाँचौ बलमा ओमानले छक्का हिर्कायो। अन्तिम बलमा एक रन लिँदा ओमानले सुपर ओभरमा २१ रन जोड्यो।
सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याउदा नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आए। बलिङमा ओमानका बिलाल खान थिए। तर पहिलो बलमै कुशल क्याच आउट भए। त्यसपछि ब्याटिङमा आएका कुशल मल्लले दोस्रो बलमा रन लिन सकेनन्।
तेस्रो बलमा मल्लले एक रन मात्र लिन सके। चौथो बलमा गुल्सन झाले एक रन लिए। पाँचौ र छैटौं बलमा गुल्सनले चौका हिर्काएपछि नेपालले १० रन मात्र जोड्न सक्यो।
यसअघि उपाधि भिडन्तका निर्धारित ओभरमा नेपाल र ओमानबीच स्कोर बराबरी भएपछि खेल सुपरओभरमा पुगेको थियो।
पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १८४ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै जोड्यो। यसकारण खेल सुपर ओभरमा पुगेको थियो।
