काठमाडौँ- सरकारले निर्माणधीन मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्ड (तनहुँको जामुनेदेखि कास्कीको सेतीदोभानसम्म)को ठेक्का तोड्ने तयारी गरेको छ। निर्माणको जिम्मा पाएको कम्पनीले सडक विस्तारको काम अघि बढाउन नसकेपछि सरकारले उक्त खण्डको ठेक्का तोड्ने तयारी गरेको हो।
चिनियाँ ठेकेदार कम्पनी आन्ह्वी काइउन हाइवे एन्ड वृज कम्पनीले सो खण्ड विस्तारको जिम्मा पाएको थियो। २०७९ जेठदेखि निर्माण सुरु गरेपनि कम्पनीले अहिलेसम्म पूर्वतयारीको काम अघि बढाउन सकेको छैन। ४ वर्षभित्र सम्पन्न गर्नुपर्ने उक्त आयोजनाको अहिलेसम्मको भौतिक प्रगति १० प्रतिशत मात्रै छ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पश्चिम खण्डको सन्तोषजक प्रगति नभएपछि ठेक्का तोड्ने तयारी भइरहेको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामहरि खतिवडाले जानकारी दिए।
‘पोखरामा पूर्वीखण्डमा काम राम्रो भइरहेको छ। पश्चिम खण्डको त काम नै भएन्। त्यसैले ठेक्का तोड्ने कि के गर्ने भन्नेमै छौं,’ उनले भने, ‘पश्चिम खण्डमा ठेकेदारले कामै नगरेर बसेको छ।’
अहिले सडकको दायाँ बायाँ चक्ल्याउने काम, कल्भर्टलगायतका काम भएको छ। पश्चिम खण्डको सडक विस्तार सन् २०२४ अगस्ट सम्ममा सम्पन्न गर्ने लक्ष्य छ। तोकिएको अवधिमा सो खण्डको काम सम्पन्न नहुने देखेपछि सरकारले ठेक्का तोड्ने तयारी गरेको हो।
उक्त खण्डअन्तर्गत कुल ३९ किलोमिटर सडक विस्तार गर्नुपर्छ।
पूर्वतयारीको काम नसक्दै ठेक्का!
उक्त सडक विस्तारअन्तर्गत पश्चिम खण्डमा अहिले अधिकांश क्षेत्रमा बिजुलीका पोल र खानेपानीका पाइप हटाउन सकिएको छैन। पोल र पाइपलगायत पूर्वतयारीका काम सम्पन्न नहुँदै ठेक्का लाग्दा आयोजना समयमै सम्पन्न नहुने निश्चित प्रायः छ। ‘पोखरा क्षेत्रमा अझै पनि बिजुलीका पोल सार्ने काम बाँकी नै छ,’ उक्त खण्डका आयोजना प्रमुख अमितकुमार श्रेष्ठले बताए।
उनका अनुसार, धेरै ठाउँमा बिजुलीको पोल सार्ने काम र बिच्छ्याइएका खानेपानीका पाइपसमेत हटाउनुपर्ने काम बाँकी नै छ। ती संरचना हटे पनि सडक विस्तारको कामले गति लिने आयोजनाले जनाएको छ।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा निर्माण सुरु भएको उक्त आयोजनाको समग्र भौतिक प्रगति ३० प्रतिशत मात्र सकिएको छ। सडकखण्डको पूर्वी खण्डमा अहिले बाटो चक्ल्याउने, रिटेनिङ वाल, कल्भर्ट निर्माणलगायतका काम भइरहेको छ।
पूर्वीखण्डको सडक विस्तार चाइना कम्युनिकेसन कन्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको छ। उक्त खण्डको विस्तारको काम २०७९ जेठमा सुरु भएको थियो। केही समय म्याद थप गरेर भए पनि पूर्वीखण्डको विस्तार सम्पन्न गराउने पक्षमा विभाग छ।
पश्चिम खण्डको सडक विस्तार भने निकै सुस्त र अपेक्षित प्रगति नभएपछि ठेक्का तोडेर अघि बढ्ने योजनामा सडक विभाग छ।
सरकारले अहिलेको २ लेनको सडकलाई विस्तार गरी ४ लेन बनाउने योजना बनाएको छ। त्यसअनुसार, सडक विस्तार गर्न एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानी रहनेछ।
सडक विस्तारका गर्न ठेकेदार कम्पनीसँग आयोजनाले पूर्वीखण्डमा ६ अर्ब २१ करोड र पश्चिम खण्डको ७ अर्ब ४० करोडको ठेक्का सम्झौता गरिसकेको छ।
मुग्लिनदेखि पोखरासम्मको करिब ८० किमी सडक ४ लेनमा विस्तार भएपछि यातायातको सहज सञ्चालन र सडक दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएका छ।


