काठमाडौँ- निजी क्षेत्रको दूरञ्चार सेवा प्रदायक कम्पनी एनसेलले भूकम्पपीडितका लागि राहतमा खर्च गर्न ५० लाख हस्तान्तरण गरेको छ। बुधबार एनसेलका प्रतिनिधिले सुर्खेतमा कर्णाली सरकारका प्रतिनिधिलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशाल उपाध्यायले कर्णाली प्रदेश सरकारका उद्योग, वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बिसीलाई उक्त चेक हस्तान्तरण गरे। यसअघि भूकम्पको उद्धारकार्यलाई सहयोग पुर्याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)का ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरका सेवा निःशुल्क उपलब्ध गराएको थियो।
‘संकटका बेला एनसेलले विगतमा पनि सहयोग गर्दै आएको छ। राहत र पुर्नस्थापनामा ठूलो रकम लाग्ने भएकाले यस किसिमको सहयोगले सरकारलाई ठूलो अर्थ राख्दछ,’ चेक ग्रहण गरेपछि कर्णालीका वन तथा पर्यटनमन्त्री कृष्णबहादुर बीसीले भने।
कठिन समयमा प्रदेश सरकारसँग समन्वय गरी काम गर्दा स्थानीय समुदायमा पुग्न मद्दत मिल्ने एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर, विशाल उपाध्यायले भने।
यस सहयोगसँगै भूकम्पपीडितका लागि एनसेलको सहयोग भन्डै रु १ करोड पुगेको बताइएको छ। विनाशकारी भूकम्पबाट १५३ जनाले ज्यान गुमाएका थिए भने क्षतिको यकिन विवरण अझसम्म पनि संकलन भइरहेको छ। राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार ६२ हजार घरमा क्षति पुगेको छ।


