अछाम- अछामको सुधारगृहमा रहेका कैदीबन्दीलाई दालमोठ बनाउने तालिमको व्यवस्था गरिएको छ । जिल्ला कारागारमा रहेका बन्दीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो।
कैदीबन्दीको मागअनुसार घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो। विगतमा कार्यालयले बन्दीलाई सीप विकास तालिम दिँदै आइएको थियो।
तालिममा १५ जनाले भाग लिएका थिए। आज एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ। प्रमुख जिल्ला अधिकारी शरद्कुमार पोखरेलले जानअञ्जानमा जेल सजाय भोगिरहेका नागरिकले आगामी दिनमा आफ्नो जीवनलाई सहज तुल्याउन सीप सिक्न आवश्यक भएको बताए। तालिममा सहभागीलाई घरेलु तथा साना उद्योग कार्यालयले दालमोठ बनाउने मेसिन प्रदान गरेको छ।

