अहमदावाद- विश्वकप क्रिकेटको फाइनल हेर्न अस्ट्रेलियाका मन्त्री भारत आउने भएका छन्। भारत र अस्ट्रेलियाबीचको फाइनल खेल हेर्नका लागि उनी अहमदावाद पुग्ने भएका हुन्।
नेपाली समयअनुसार दिउँसो २:१५ मा अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा यी दुवै टोली एक दिवसीय क्रिकेटको फाइनलका लागि भिड्ने तय भइसकेको छ।
यो खेल हेर्नका लागि अस्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लिज मैदानमा उपस्थित हुनेछन्। मार्लिज अस्ट्रेलियाका उपप्रधानमन्त्री पनि हुन्। उता भारतीय पक्षबाट प्रधानमन्त्री नरेन्द्र मोदी नै मैदान पुग्ने बताइएको छ।
अस्ट्रेलिया र भारतले उपाधि प्रतिस्पर्धा गरेको भोलिपल्टै यी दुवै देशका रक्षामन्त्री र विदेशमन्त्रीहरूबीचको डायलग कार्यक्रम तय भएको छ। यो कार्यक्रममा कुन पक्षले कसलाई बधाई दिने भन्ने चाहिँ फाइनल नतिजाले निर्धारण गर्नेछ।


