काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा नेपालले मंगलबार यमनको सामना गर्दैछ। समूह ‘एच’को खेलमा नेपालले घरेलु मैदान दशरथ रंगशालामा यमनको सामना गर्न लागेको हो।
मंगलबार बेलुका ७ बजेदेखि सुरु हुने खेलमा अर्को चरण प्रवेश गर्नका लागि दुवै टोलीका लागि महत्त्वपूर्ण छ।
नेपाल दोस्रो चरणको पहिलो खेलमा संयुक्त अरब ईमिरेट्स (यूएई)सँग ४–० गोलले पराजित भएको थियो। यमन पनि बहराइनसँग २–० ले पराजित भएको थियो।
पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणमा नेपालले ३ वटै टिमसँग होम र अवे गरी ६ खेल खेल्नेछ।
विश्वकप २०२६ एएफसी छनोटका लागि नेपाल रहेको समूहमा नेपालसँगै यूएई, बहराइन र यमन छन्।
फिफा वरीयतामा यूएई ६९औं स्थानमा छ। बहराइन ८३औं तथा यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।
४ टिममध्ये शीर्ष २ टिम एसिया कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन्। पुछारका २ टिमको विश्वकप छनोट यात्रा टुंगिनेछ भने एसिया कपको तेस्रो चरणमा प्रवेश गर्नेछन्।
यमनविरूद्धको खेल हेर्न दशरथ रंगशाला आउने दर्शकलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले निः शुल्क बस सेवा उपलब्ध गराउने भएको छ।
खेल सक्किएपछि दर्शकरहरूलाई घर जान सहज होस् भन्नका लागि एन्फाले निःशुल्क बस उपलब्ध गराउन लागेको हो। त्यसका लागि १५ वटा बसको व्यवस्था गरिएको एन्फाले जनाएको छ। ती बसहरू काठमाडौंका विभिन्न रूटमा चल्नेछन्।
एन्फाले उपलब्ध गराउने बसमा चढेर घर जान दर्शकहरूले टिकट देखाउनुपर्नेछ।
आज हुने खेलको टिकट सामान्य ४ सय र भीआइपीतर्फ १ हजार रूपैयाँ निर्धारण गरिएको छ। टिकट आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा उपलब्ध हुनेछ।



