काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौति दिएका छन्। गुल्मीमा शनिवार आयोजित पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिँदै राजतन्त्र फर्काउन मन भए चुनाव लडेर संविधान परिवर्तन गर्न चुनौति दिएका हुन्।
‘नेपालको राजतन्त्र हामीले फालेको होइन,आफ्नै कर्मले गएको हो । माओवादीले हाम्रा साथीहरु काटिरहँदा माओवादीले कांग्रेस तह लगाउँछ भनेर सेना परिचालन गर्न नदिने यहि राजा होइन? राजा फर्काउनुपर्छ भनेर कोही आउँछ भने कांग्रेसका प्रत्येक साथीले भन्न सक्नुपर्छ च्याँखे दाउको खालमा नपस,’ उनले भने, ‘राजालाई पनि म भन्न चाहान्छु, महाराज च्याँखे दाउमा होइन सिधै खालमा आऊ। बकाइदा भिड्न तयार छ कांग्रेस। दल खोल,चुनाव लडेर दुई तिहाई ल्याऊ संविधान परिवर्तन गर।’
उनले मौका पर्दा मूर्ति चोर्ने धर्मको रक्षा गर्छन भन्ने भ्रममा नपर्न आग्रह समेत गरे। ‘मौका पर्दा मन्दिरका मुर्ति चोर्नेले सनातन धर्मको रक्षा गर्दैनन्। सनातन धर्म संस्कृतिको रक्षा गर्न कांग्रेस सक्षम छ,’ उनले भने।
