काठमाडौं- व्यवसायी सतिशलाल आचार्यले एनसेलको ८० प्रतिशत सयेर किनेका छन्। आजियाटा समूहले बेचेको एनसेलको ८० प्रतिशत सेयर आचार्यको कम्पनी स्पेक्ट्रालाइट युकेले किनेको हो।
आचार्य बेलायतमा दर्ता रहेको स्पेक्ट्रलाइट युकेका सञ्चालक हुन्। स्पेक्ट्रलाइट युकेले आजियाटाको ८० प्रतिशत सेयर किन्न ‘सेयर पर्चेज एग्रिमेन्ट’ गरिसकेको हो।
स्पेक्ट्रलाइट युके यसै वर्ष खुलेको कम्पनी हो। सन् २०२३ सेप्टेम्बरमा मात्रै खुलेको कम्पनीमा सतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी छ।
बुधबार आजियाटा समूहले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो। व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको थियो।
एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व थियो। बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा छ। अहिले एनसेलमा २० प्रतिशत स्थानीय साझेदार रहेको सुनिभेरा क्यापिटल भेन्चरमा समेत आचार्य परिवारको स्वामित्व छ।
दूरसञ्चार ऐन २०५३ को दफा ३३ ले जम्मा पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेकाले त्यसबाट पन्छिनका लागि आजियाटाले चलाखीपूर्ण निर्णय लिएको विश्लेषण भइरहेको छ।
६ वर्षपछि विदेशी स्वामित्वको हिस्सा सरकारी स्वामित्व जाने देखिएको थियो।
