काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राम्रो बोल्ने मानिस नभएपनि राम्रो काम गर्न खोजिरहेको जिकिर गरेका छन्। कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनलाई शनिबार सम्बोधन गर्दै देउवा यस्तो बताएका हुन्।
‘म राम्रो बोल्ने मानिस होइन, तपाईंहरूलाई थाहा छ। कम बोल्ने, काम बढी गर्न खोजिरहेको छ, हेरौं के हुन्छ,’ आफूअघि बोलेका चन्द्र भण्डारीको प्रशंशा गर्दै देउवाले थपे, ‘चन्द्र भण्डारीजी भाषण गर्न सिपालु हुनुहुन्छ, अब काम गर्ने बेला आएको छ, काम पनि गर्नुस्।’
देउवापछि बोलेका कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने चाहना नराख्न आग्रह गरेका थिए। सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने उनको भनाइ थियो।
‘आदरणीय सभापतिले ५/५ पटक त बनिसक्नुभयो, बाँकी यो सम्मेलनले दिएको राप, ताप र शुभकामना उहाँको शीरमा परोस्, प्रधानमन्त्री बन्ने कुरामा ल अघि बढ मेरा समकालीन साथीहरु! या आऊ कोही युवा! यति भन्न सक्ने मनोविज्ञान सभापतिजीले राख्न सक्नुपर्छ,’ उनले भने।
लुम्बिनी प्रदेश सम्मेलनमा महामन्त्री शर्मा, गगन थापा र नेता शेखर कोइरालाले बोल्न बाँकी हुँदैमा सभापति देउवाले आफ्नो भनाइ राखेर बाहिरिएका थिए।


