लेखनाथ- ‘महोत्सवको पनि महोत्सव’ भन्ने पहिचान बनाउन सफल लेखनाथ महोत्सवको तयारीलाई तीव्र बनाइएको छ। लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ५ देखि १६ गतेसम्म महोत्सव हुने महोत्सवमा ३३४ स्टल रहने लेखनाथमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए।
पोखरा २७ स्थित डाँडाकोनाकमा हुने १९औं संस्करणको लेखनाथ महोत्सव मार्फत स्थानीय उत्पादन, पर्यटन र उद्योग तथा व्यवसायको प्रवर्द्धन गरिने आयोजकको भनाइ छ।
‘विगतका वर्षहरुमा लेखनाथ महोत्सव सधैं दर्शकको रोजाईमा पर्दै आइरहेको छ,’ संघका प्रथम उपाध्यक्ष एवं प्रचार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले भने, ‘यस पटक महोत्सवलाई अझ बढी दर्शकको उपस्थिति रहने गरी तयारी गरिरहेका छौं।’
महोत्सव सफल बनाउन ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उपसमिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको महासचिव जानुका पराजुलीले जानकारी दिइन्। उनका अनुसार महोत्सवमा ३ सय ३४ वटा स्टल रहनेछन्। ती मध्ये अधिकांश स्टल बुकिङ भइसकेको बताइएको छ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका लघु, घरेलु, साना-ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु बिक्री तथा प्रदर्शनीमा राखिनेछ।
विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामग्री, सूचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु दर्शकको रोजाईमा पर्ने आयोजकको विश्वास छ।
‘स्थानीय उत्पादनको बजारीकरण, नयाँ प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवर्द्धनमा महोत्सवले टेवा पुर्याउनेछ,’ संघका अध्यक्ष विनोद श्रेष्ठले भने। सबै जातजाति र संस्कृतिलाई समेटेर लेखनाथको पहिचान चिनाउन पनि महोत्सव सहयोगी हुने उनले बताए।
महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ। सह-प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टिभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रवर्द्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप-समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए।
गत वर्ष यो महोत्सव २ लाख ८५ हजार दर्शकले अवलोकन गरेका थिए। महोत्सवमा कुल १२ करोड ३० लाख बराबरको कारोबार थियाे।
महोत्सवमा मनोरञ्जनका लागि रत्यौली कार्यक्रमदेखि विद्यालय स्तरीय कार्यक्रम, लोकदोहोरी कार्यक्रम, भजन कृतन, लाइभ कन्सर्ट, विभिन्न जातजाति, भाषाभाषीका कार्यक्रमहरुको आयोजना गरिएको थियो।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कुल ३३७ स्टलहरु रहेका थिए।
ग्रामीण घरेलु प्रविधिको प्रदर्शनी र यहाँका पर्यटकीय स्थलको पहिचान गराउने उद्देश्यले आयोजना गरेको महोत्सवमा पर्यटकीय स्थलको पहिचान गराउन छुट्टै बेगनास तालको डेमो तयार गरि राखिएको थियो जुन दर्शकको आकर्षणको केन्द्र समेत बनेको थियो।
यसका साथै महोत्सवमा हस्तकला, घरेलु उत्पादन, एग्रो प्रोडक्टहरुको प्रवर्द्धन सम्बन्धी स्टलहरु, मेसिन, अटो, गार्मेन्ट, माटाका भाडा, फलामका औजार प्रदर्शनीमा राखिएका थिए।
२०५८ सालमा सुन्तला प्रदर्शनीबाट सुरु भएकोमा तीन वर्षपछि लेखनाथ महोत्सवको पहिलो संस्करण भएको थियो।
