काठमाडौँ- चिनियाँ विद्युतीय सवारी उत्पादक बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले फास्ट चार्जिङ नेटवर्क विस्तारलाई तीव्रता दिएको छ।
कम्पनीले पहिलो चरणमा नेपालको विभिन्न ११ सहरहरूमा डीसी फास्ट चार्जर जोडेर यो अभियानलाई तीव्रता दिइएको जानकारी दिएको हो। कम्पनीका अनुसार सन् २०२३ को डिसेम्बर अन्तिमसम्ममा थप १८ स्थानमा डीसी चार्जर जोडिने छ।
कम्पनीले हाल पोखरा, नेपालगञ्ज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मूलकोट, विर्तामोड, नक्साल र गुहेश्वरीमा डीसी फास्ट चार्जर जोडेको हो।
यीमध्ये १० स्थानमा रहेका चार्जर ३० किलोवाट क्षमताको छ भने मुलकोटमा रहेको चार्जर ६० किलोवाट क्षमताको छ।
कम्पनीले नेपाली बजारमा विद्युतीय गाडी भित्र्याएदेखि नै चार्जिङ स्टेसन विस्तारमा पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ।
चार्जिङ स्टेसनबारे जानकारी कम्पनीको वेबसाइटमार्फत प्राप्त गर्न सकिन्छ।
हाल कम्पनीले बिक्री गर्दै आएको बिवाइडी अट्टोले राम्रो बजार पाएको छ। यो विद्युतीय गाडीले ८८ किलोवाटको डीसी चार्जर समर्थन गर्छ।
त्यस्तै बिवाइडी डल्फिनलाई भने ६० किलोवाटको चार्जरमा चार्ज गर्न सकिन्छ। बिवाइडीका गाडीहरूलाई ८० प्रतिशतसम्म चार्ज हुन भने जम्मा ३० देखि ३५ मिनेट मात्रै लाग्छ।
